२०८३ भाद्र १० गते, बुधबार २१:२१

भोटेकोशीको बाढीप्रति मधेस सरकारको गम्भीर चिन्ता: तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आह्वान

जनकपुरधाम

रसुवाको सीमावर्ती क्षेत्रबाट आज भोटेकोशी नदीमा अप्रत्याशित रूपमा आएको भीषण बाढी र त्यसले पुर्‍याएको जनधनको क्षतिप्रति मधेस प्रदेश सरकारले गम्भीर चिन्ता व्यक्त गरेको छ।

आज बसेको मधेस प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले भोटेकोशीको बाढी क्रमशः तल्लो तटीय क्षेत्रतर्फ अगाडि बढिरहेकाले नदी किनार तथा तल्लो क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन विशेष आह्वान गरेको छ।

मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री युवराज भट्टराईले पछिल्लो समय वर्तमान पुस्ताले नदेखेको र नभोगेको स्तरमा बाढी तथा डुबानका घटना भइरहेको बताउनुभयो। उहाँका अनुसार विपद्मा परेका घाइते तथा प्रभावितहरूको शीघ्र उद्धार, राहत र पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्रसहित आम नागरिकलाई आ-आफ्नो क्षेत्रबाट सक्दो योगदान पुर्‍याउन सरकारले अपील गरेको छ।

बैठकले विपद् व्यवस्थापन, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल सरकारले अवलम्बन गर्ने हरेक नीति र कदममा प्रदेश सरकारको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता समेत जनाएको छ।

जलवायु परिवर्तनका कारण नदी प्रणालीहरूमा पटक-पटक आकस्मिक बाढीको जोखिम बढिरहेको उल्लेख गर्दै मन्त्री भट्टराईले नदी किनारका बस्ती, राजमार्ग, पुल तथा अन्य पूर्वाधारको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। साथै, आकस्मिक बाढीले तल्लो तटीय क्षेत्रमा पार्ने डुबानको समस्यालाई केन्द्रमा राखेर विशेष नीति निर्माण गर्नुपर्ने आवश्यकता बैठकले औँल्याएको छ।

विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार तथा पुनःस्थापनाका कार्यहरूलाई थप प्रभावकारी र द्रुत बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबिच तीव्र समन्वय आवश्यक रहेको निष्कर्ष मन्त्रिपरिषद्ले निकालेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस