२०८३ भाद्र १० गते, बुधबार २२:१६

वीरगन्ज छपकैया झडप प्रकरण: मोहम्मद शाहबुद्दीन जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा

वीरगन्ज

वीरगन्ज महानगरपालिकाको छपकैयामा बुधबार दुई समुदायबीच भएको झडपको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मोहम्मद शाहबुद्दीनलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले शाहबुद्दीनलाई प्रहरी नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। यद्यपि, उनलाई कुन कानुन र मुद्दाअन्तर्गत नियन्त्रणमा लिइएको हो भन्ने विषयमा आधिकारिक रूपमा थप प्रस्ट पारिएको छैन। प्रहरी स्रोतका अनुसार बुधबार छपकैयामा झण्डा विवादलाई लिएर भएको साम्प्रदायिक झडपमा उनको प्रमुख संलग्नता देखिएकाले छानबिनका लागि नियन्त्रणमा लिइएको हो।

बुधबार मध्याह्न करिब १२ बजे छपकैयास्थित टावर लाइटको पोलमा पहिलेदेखि नै रहेको हनुमान जयन्तीको झण्डा (पताका) को छेउमा अर्को झण्डा राख्ने विषयमा विवाद सिर्जना भएको थियो। विवाद मिलाउन वीरगन्ज महानगरपालिकाको टोलीले दुवै पक्षको सहमतिमा नेपालको राष्ट्रिय झण्डा सो पोलमा लगाएको थियो।

तर महानगरको गाडी फर्किएलगत्तै राष्ट्रिय झण्डा झिकेर फाल्ने र धार्मिक पताकाको अपमान गर्ने प्रयास भएपछि अवस्था एकाएक तनावग्रस्त बनेको थियो। झडपका क्रममा दुवै पक्षका गरी ६ जना सर्वसाधारण र १ जना प्रहरी जवान घाइते भएका छन् भने सञ्चारकर्मी सञ्जय कानूको मोटरसाइकल तोडफोड भएको छ।

घटनापछि छपकैयाका वडा नं. १, २ र ३ क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ठूलो सङ्ख्यामा परिचालन गरी सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। प्रहरीको बाक्लो उपस्थिति पछि अहिले त्यस क्षेत्रको स्थिति सामान्य बन्दै गएको स्थानीय प्रशासनले जनाएको छ। मोहम्मद शाहबुद्दी नेपाली कांगे्स पर्सा २ का सभापति समेत रहेका छन् । उनले आफनो घरबाट डुगा मुडा गरेको भिडियो समेत बिभिन्न समाजिक संजालमा सार्वजनिक भएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस