२०८३ भाद्र ११ गते, बिहीबार ११:१२

रसुवाको विनाशकारी बाढीमा मधेशका एक दर्जनभन्दा बढी सम्पर्कविहीन, अधिकांश जलविद्युत् आयोजनाका प्राविधिक

वीरगन्ज –

रसुवाको स्याफ्रुबेँसी, त्रिशूली, टिमुरेलगायत क्षेत्रमा आएको विनाशकारी बाढीपछि मधेश प्रदेशका एक दर्जनभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीनमध्ये अधिकांश विभिन्न जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियर, ओभरसियर तथा सुपरभाइजर रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

बाढी आएदेखि नै उनीहरू परिवार र आफन्तको सम्पर्कमा नरहेको बताइएको छ। आफन्तहरूले सामाजिक सञ्जालमार्फत उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग अपिल गरिरहेका छन्।

प्राप्त विवरणअनुसार बाराको सुवर्ण गाउँपालिका–४, हरैया निवासी रमेशकुमार यादव, महोत्तरीको पिपरा गाउँपालिका निवासी इन्जिनियर विकास यादव, जनकपुरधामका अजयप्रसाद सिंह, सप्तरीको बोदेबरसाइन नगरपालिका–३ काचनटोलका देवकुमार यादव, शिवकुमार यादव र सचित यादव सम्पर्कविहीन छन्।

यस्तै मधेश प्रदेशका सन्तोषकुमार ठाकुर, राहुल गुप्ता, राजा यादव र सुरज मण्डल पनि बाढी आएदेखि सम्पर्कमा नरहेको जनाइएको छ। समाचार तयार पार्दासम्म उनीहरू सबैको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन।

जलविद्युत् आयोजनामा कार्यरत प्राविधिक

बाराको सुवर्ण गाउँपालिका–४ हरैयाका रमेशकुमार यादव रसुवामा सञ्चालित अपर त्रिशूली हाइड्रोपावरको ३३ मेगावाट क्षमताको आयोजनामा कार्यरत रहेको स्थानीय परवेज खानले जानकारी दिएका छन्।

महोत्तरीको पिपरा गाउँपालिकाका इन्जिनियर विकास यादव पनि रसुवास्थित एक जलविद्युत् आयोजनामा कार्यरत रहेको बताइएको छ।

जनकपुरधामका अजयप्रसाद सिंह २१६ मेगावाट क्षमताको अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत रहेको जनाइएको छ। सन्तोषकुमार ठाकुर र राहुल गुप्ता पनि सोही आयोजनामा इन्जिनियरका रूपमा कार्यरत रहेको बताइएको छ।

एउटै परिवारका तीन दाजुभाइ बेपत्ता

सप्तरीको बोदेबरसाइन नगरपालिका–३ काचनटोलका देवकुमार यादव, शिवकुमार यादव र सचित यादव एउटै परिवारका तीन दाजुभाइ हुन्। उनीहरू तीनै जना रसुवास्थित एक जलविद्युत् आयोजनामा कार्यरत थिए।

परिवारका अनुसार देवकुमार इन्जिनियर, सचित ओभरसियर र शिवकुमार सुपरभाइजरका रूपमा कार्यरत थिए।

उनीहरूका बुवा लालबहादुर यादवका अनुसार बुधबार बिहान रसुवामा बाढी आएपछि तीनै छोरासँग सम्पर्क हुन सकेको छैन।

‘बाढी आएदेखि छोराहरूसँग सम्पर्क हुन सकेको छैन। उनीहरू कहाँ छन्, कस्तो अवस्थामा छन् भन्ने केही थाहा छैन,’ यादवले भने। उनले तत्काल खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

श्रीमान्को खोजी गरिदिन पत्नीको आग्रह

जनकपुरधामका अजयप्रसाद सिंहकी श्रीमती पूजा साहले पनि बाढी आएको समयदेखि श्रीमान्सँग सम्पर्क हुन नसकेको बताएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत श्रीमान्को अवस्था तत्काल पत्ता लगाई खोजी तथा उद्धार गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेकी छन्।

बाढीपछि सञ्चार सम्पर्कसमेत अवरुद्ध भएका कारण सम्पर्कविहीन व्यक्तिहरूको वास्तविक संख्या र अवस्थाबारे यकिन विवरण आउन नसकेको बताइएको छ। आफन्तहरू भने आफ्ना परिवारका सदस्यको अवस्था पत्ता लगाउन आतुर बनेका छन्।

मधेश सरकारद्वारा एक दिनको तलब विपद् कोषमा दिने निर्णय

यसैबीच, मधेश प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतका लागि सहयोग गर्ने निर्णय गरेको छ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री, मन्त्री, प्रदेश सरकारका पदाधिकारी तथा कर्मचारीको एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

प्रदेश सरकारले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

साथै, प्रभावित क्षेत्रमा रहेका नागरिकको खोज, उद्धार र राहत कार्यमा सहयोग गर्न मधेश प्रदेशका नागरिक, बुद्धिजीवी, उद्यमी, व्यवसायी, समाजसेवी तथा आमसञ्चार क्षेत्रलाई सरकारले अपिल गरेको छ।

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

प्रदेश मन्त्रिपरिषद्ले बाढीको प्रभाव क्रमशः बढ्दै गएको भन्दै नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

मन्त्रिपरिषद्ले वर्तमान पुस्ताले नदेखेको र नभोगेको स्तरमा बाढी तथा डुबानका घटना भएको भन्दै घटनाप्रति स्तब्धता व्यक्त गरेको छ।

उद्धार, राहत तथा पुनःस्थापनाका लागि संघीय सरकारले तय गर्ने नीति तथा कार्यक्रममा मधेश प्रदेश सरकारको पूर्ण साथ, सहयोग र समर्थन रहनेसमेत प्रदेश सरकारले जनाएको छ।

तर रसुवाको बाढीपछि मधेशका दर्जनौँ परिवारमा भने अझै एउटै प्रश्न अनुत्तरित छ—सम्पर्कविहीन आफ्ना आफन्तहरू कहाँ छन्?

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस