२०८३ भाद्र १३ गते, शनिबार ११:२४

भोटेकोशीमा बाढीको जोखिम कायमै, सुरक्षित स्थानमा रहन आग्रह

काठमाडौं –

रसुवाको भोटेकोशी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल भोटेकोशी र त्रिशूली नदीको जलसतह सामान्य रहे पनि माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल फुट्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ ।

महाशाखाका बाढीविद् विनोद पराजुलीले चीन सरकारबाट प्राप्त सूचना तथा भू–उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषणअनुसार भदौ १० गते बाढी आएको क्षेत्रमा नदी थुनिएर बनेको तालको आकार बढ्दै गएको जानकारी दिए । उनका अनुसार उक्त ताल फुटेमा भोटेकोशीमा पुनः आकस्मिक बाढी आउन सक्ने जोखिम छ ।

“नदी थुनिएर बनेको तालको आकार बढ्दै गएको र फुट्ने जोखिम देखिएको छ । ताल फुटेमा पानीसँगै ढुङ्गा, माटो तथा गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्छ,” पराजुलीले भने ।

उनका अनुसार पछिल्लो बाढीपछि भोटेकोशी र त्रिशूली नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहे पनि माथिल्लो क्षेत्रमा ताल फुट्ने अवस्था आएमा नदीको जलसतह अचानक बढ्न सक्छ । त्यसैले तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दा तथा यात्रुले विशेष सावधानी अपनाउनुपर्ने उनले बताए ।

“भोटेकोशी र त्रिशूलीको बहाव अहिले सतर्कता तहभन्दा तल छ । तर माथिल्लो क्षेत्रमा बनेको ताल फुटेमा अचानक बहाव बढ्न सक्छ । बाढीको खतरा बढेमा महाशाखाले तत्काल पूर्वसूचना जारी गर्नेछ,” उनले भने ।

महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र अन्य व्यक्तिलाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

महाशाखाले नदीको जलसतह र माथिल्लो क्षेत्रमा बनेको तालको अवस्थाबारे निरन्तर निगरानी भइरहेको जनाउँदै सम्भावित जोखिमप्रति सचेत रहन तथा जारी हुने पूर्वसूचनालाई बेवास्ता नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस