२०८३ भाद्र १३ गते, शनिबार ११:४१

विदेशी उद्धार टोली नल्याउने अडानबाट पछि हट्यो सरकार, भारतबाट ११ सदस्यीय टोली काठमाडौंमा

काठमाडौं –

खोज तथा उद्धार कार्यमा विदेशी टोलीको सहयोग नलिने अडानबाट नेपाल सरकार पछि हटेको छ । यसअघि विभिन्न देशले सहयोगको प्रस्ताव गरे पनि नेपाली सुरक्षा निकाय नै उद्धारमा पर्याप्त रहेको भन्दै सरकारले विदेशी टोलीको आवश्यकता नरहेको जनाएको थियो ।

भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, श्रीलंका र बंगलादेशले खोज तथा उद्धार टोली नेपाल पठाउने प्रस्ताव गरेका थिए । तर, शुक्रबार दिउँसोसम्म परराष्ट्र मन्त्रालयले तत्काल विदेशी उद्धार टोलीको आवश्यकता नरहेको स्पष्ट पारेको थियो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले रोयटर्ससँगको कुराकानीमा विदेशी सहयोगका प्रस्ताव आउनु स्वाभाविक भए पनि नेपाली सुरक्षा निकायले नै खोज तथा उद्धारको काम गरिरहेकाले तत्काल त्यस्तो सहयोग आवश्यक नरहेको बताएका थिए ।

तर, पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सरकारले विदेशी खोज तथा उद्धार टोलीलाई नेपाल आउन अनुमति दिने निर्णय गरेको छ । त्यसैअनुसार भारतले चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरुङ उद्धारमा विशेषज्ञता भएको ११ सदस्यीय टोली नेपाल पठाएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरका अनुसार उक्त टोली शुक्रबार नयाँ दिल्लीबाट काठमाडौंका लागि प्रस्थान गरेको हो । टोलीमा चिकित्सक, प्यारामेडिक्स तथा सुरुङ उद्धारका लागि विशेष ‘रेक्की’ टोली सहभागी छन् । टोलीले बाढी प्रभावित क्षेत्रमा भइरहेका जटिल खोज तथा उद्धार कार्यमा प्राविधिक सहयोग गर्नेछ ।

यसैबीच, भारतले नेपालका बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीसमेत पठाएको छ । भारतीय वायुसेनाको विमानमार्फत तेस्रो चरणमा १० टन मानवीय सहायता सामग्री शुक्रबार राति काठमाडौं ल्याइएको हो ।

उक्त राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुझेका थिए ।

भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’मार्फत नेपालका राहत तथा उद्धार प्रयासमा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताएका छन् । उनका अनुसार पछिल्लो खेपमा पोर्टेबल जेनेरेटर, डिग्निटी किट, खाद्यान्नका प्याकेट तथा पानी शुद्धीकरण गर्ने ट्याब्लेटलगायत अत्यावश्यक सामग्री रहेका छन् ।

पछिल्लो समय बाढीका कारण विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्य जटिल बन्दै गएपछि विदेशी सहयोगको आवश्यकता बढेको हो । सरकारले विदेशी टोलीलाई अनुमति दिएसँगै प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग परिचालन हुने बाटो खुलेको छ ।

सरकारले भने उद्धार तथा खोजी कार्यमा नेपाली सुरक्षा निकायको नेतृत्व र समन्वय कायम रहने जनाएको छ । विदेशी टोलीको सहयोगलाई प्रभावित क्षेत्रमा आवश्यकताअनुसार प्राविधिक तथा विशेषज्ञ सहयोगका रूपमा परिचालन गरिने बताइएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस