२०८३ भाद्र १३ गते, शनिबार १२:०७

धनभन्दा ठूलो मन : बाढीपीडितको दुःखमा वीरगन्ज हेल्थ केयर अस्पताल, १० लाख सहयोग

वीरगन्ज –

‘धन भएर मात्र हुँदैन, मन पनि चाहिन्छ’ भन्ने भनाइलाई चरितार्थ गर्दै वीरगन्ज हेल्थ केयर अस्पतालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।

विपद्को पीडामा परेका नागरिकलाई आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने मानवीय भावनासहित वीरगन्ज–१४ स्थित अस्पतालले उक्त रकम सहयोग गरेको हो ।

अस्पतालका अध्यक्ष डा. अबुल हैस अन्सारीले शुक्रबार १० लाख रुपैयाँको चेक पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तलाई हस्तान्तरण गरे । बाढीबाट ठूलो जनधनको क्षति भएको र हजारौँ परिवार प्रभावित भइरहेका बेला राहत तथा उद्धार कार्यमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको डा. अन्सारीले बताए ।

उनले विपद्का बेला एकअर्काको दुःखमा साथ दिनु नै सच्चा नेपालीपन र मानवताको परिचय भएको बताए ।

“एक नेपालीका रूपमा आफ्नो देश र आफ्ना नागरिकप्रति सहयोग गर्नु हाम्रो कर्तव्य हो । विपद्को यस घडीमा सबैले आ–आफ्नो क्षमता र सामर्थ्यअनुसार बाढी प्रभावित नागरिकलाई सहयोग गर्न आवश्यक छ,” डा. अन्सारीले भने ।

उनका अनुसार विपद्को पीडामा परेका नागरिकलाई तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारको प्रयास मात्र पर्याप्त नहुन सक्छ । यस्तो अवस्थामा निजी क्षेत्र, व्यवसायी, सामाजिक संघसंस्था तथा आम नागरिकले समेत हातेमालो गर्नुपर्ने उनले बताए ।

“सहयोग ठूलो वा सानो भन्ने कुरा होइन, विपद्मा परेको व्यक्तिका लागि देखाइएको सहयोगी भावना महत्वपूर्ण हुन्छ,” उनले भने, “आफूले सक्ने सहयोग गरेर पीडितको दुःखमा साथ दिनु हामी सबैको जिम्मेवारी हो ।”

भोटेकोशीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतको आवश्यकता बढिरहेका बेला वीरगन्जबाट गरिएको यो सहयोगले विपद्मा मानवीय सहयोगको महत्वलाई थप उजागर गरेको छ ।

अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा सहयोग गर्दै आएको जनाएको छ । अस्पताल प्रशासनले आगामी दिनमा समेत आवश्यकता र परिस्थितिअनुसार सामाजिक तथा मानवीय कार्यमा सहयोग जारी राख्ने जनाएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा अस्पतालका अध्यक्ष डा. अबुल हैस अन्सारी, निर्देशक हासिम अन्सारी, प्रशासन प्रमुख भूमिका अधिकारीलगायत स्वास्थ्यकर्मी तथा कर्मचारीको उपस्थिति थियो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस