काठमाडौं –
चीनसँगको सीमा क्षेत्रमा पर्ने तिब्बततर्फबाट बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका २७ जना प्रहरी कर्मचारीको नामावली नेपाल प्रहरीले सार्वजनिक गरेको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परेर २८ जना प्रहरी सम्पर्कविहीन भएका थिए । तीमध्ये प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेलको शव फेला परेको छ । उनको शव सनाखत गरी आफन्तले बुझिसकेका छन् ।
बाँकी २७ जना प्रहरी कर्मचारी भने अझै बेपत्ता छन् । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहे पनि हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन ।
बेपत्ता हुने प्रहरी कर्मचारीमा प्रहरी जवानदेखि प्रहरी नायब निरीक्षक (सई) दर्जासम्मका रहेका छन् । नेपाल प्रहरीले सम्भावित सबै स्थानमा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ ।
बाढीका कारण रसुवाको भोटेकोशी नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायका टोलीले उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइरहेका छन् ।












