२०८३ भाद्र १३ गते, शनिबार १२:१२

रसुवा बाढीमा मृतकको संख्या ५५३ पुग्यो, एक हजार ४७३ जनाको उद्धार

काठमाडौं –

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको संख्या ५५३ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट शुक्रबार साँझसम्म ५५३ जनाको शव फेला परेको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४०, तनहुँमा ३१, नुवाकोटमा ३८, गोरखामा ४७, चितवनमा २२२, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ४७३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेका छन् ।

बाढीमा परी घाइते भएकाहरूलाई विभिन्न स्थानबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । प्रहरीका अनुसार काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म ९७ जना रहेका छन् ।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कार्यालय तथा अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बल नेपालका १३ जना कर्मचारी हालसम्म सम्पर्कविहीन छन् ।

बाढीमा परी सर्वसाधारणसहित हालसम्म दुई हजार ३८१ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् । बेपत्ताको खोजी तथा प्रभावितको उद्धारका लागि थप जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस