२०८३ भाद्र १३ गते, शनिबार १२:४८

रसुवा बाढी : खोजी तीव्र भएसँगै मृतकको संख्या ६१६ पुग्यो, २ हजार ३०१ जनाको उद्धार

काठमाडौं –

रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीपछि बेपत्ताको खोजी तथा उद्धार कार्य तीव्र भएसँगै मृतक र सकुशल उद्धार गरिएका व्यक्तिको संख्या बढ्दै गएको छ ।

नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७ बजेसम्म बाढीमा परी बेपत्ता भएकामध्ये ६१६ जनाको शव फेला परेको छ । यससँगै बाढीमा परी ज्यान गुमाउनेको संख्या थप बढेको हो ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाका छन् ।

बाढी प्रभावित क्षेत्रमा खोजी कार्य अगाडि बढ्दै जाँदा थप शव फेला पर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ । नदी तथा बाढीले बगाएर पुर्‍याएका सम्भावित स्थानमा सुरक्षा निकायका टोलीले खोजीलाई तीव्रता दिएका छन् ।

यसैगरी, बाढी प्रभावित विभिन्न स्थानबाट २ हजार ३०१ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उद्धार गरिएकामध्ये रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट तीन जनाको उद्धार गरिएको छ ।

बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललगायत सुरक्षा निकायका टोली परिचालन गरी खोजी तथा उद्धार कार्य जारी राखिएको छ ।

प्रहरीका अनुसार नदी किनार, बाढीले पुर्‍याएका बस्ती तथा अन्य सम्भावित स्थानमा बेपत्ताको खोजी भइरहेको छ । उद्धार कार्य अघि बढेसँगै थप मानिसको सकुशल उद्धार हुने तथा मृतकको संख्या बढ्न सक्ने देखिएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस