२०८३ भाद्र १४ गते, आईतवार १४:४९

बाढीपहिरोको विपत्तिमा नेपाललाई विश्वको साथ : भारत, चीन र अमेरिकाबाट राहतदेखि उद्धार टोलीसम्म

काठमाडौं –

विनाशकारी बाढीपहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याइरहेका बेला नेपाललाई अन्तर्राष्ट्रिय सहयोग जुट्न थालेको छ। छिमेकी भारत र चीनसँगै अमेरिकाले पनि राहत, उद्धार र पुनःस्थापनाका लागि सहयोग घोषणा गरेका छन्।

भारतले बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन प्राविधिक टोलीसहितको चौथो खेप सहायता नेपाल पठाएको छ। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरका अनुसार ११ टन राहत सामग्री र उद्धारका लागि आवश्यक प्राविधिक उपकरणसहितको विमान नेपाल आएको हो।

भारतीय वायुसेनाको सी–१३० विमानबाट विपद् व्यवस्थापन तथा खोजी–उद्धारका लागि आवश्यक उपकरणसहित सुरुङ (टनेल) प्राविधिक टोली नेपाल आइपुगेको भारतीय दूतावासले जनाएको छ। डीएनए विश्लेषणका लागि आवश्यक उपकरणसहित फरेन्सिक विशेषज्ञहरूको टोलीसमेत नेपाल आएको छ।

भारतले पठाएको राहत सामग्रीमा ब्ल्याङ्केट, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सिट तथा सरसफाइका सामग्रीलगायत छन्। यससँगै भारतबाट हवाईमार्फत नेपाल आइपुगेको राहत सामग्रीको कुल परिमाण ६८.५ टन पुगेको छ। यसअघि भारतले औषधि, पोर्टेबल जेनेरेटर, तयारी खाना, पानी शुद्धीकरण गर्ने ट्याब्लेट तथा अन्य प्राविधिक उपकरण पठाएको थियो।

सडक र पुल सञ्चालनमा पनि भारतको साथ

बाढीपहिरोका कारण सडक तथा पुलमा ठूलो क्षति पुगेपछि अवरुद्ध यातायात सञ्चालनमा ल्याउन भारतले संरचनागत सहयोगसमेत अघि बढाएको छ।

जयशंकरका अनुसार २३० फिट लामो सिंगल लेन मोड्युलर स्टिल ब्रिज निर्माणका उपकरण बोकेका १६ वटा ट्रक नेपालतर्फ प्रस्थान गरिसकेका छन्। थप सातवटा बेली ब्रिजका उपकरण र तिनलाई जडान गर्ने प्राविधिक टोलीसमेत छिट्टै नेपाल आउने तयारीमा छन्।

यसले बाढीपहिरोबाट सडक र पुल भत्किएर सम्पर्कविहीन भएका क्षेत्रमा आवागमन पुनःस्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

चीनबाट ५० टन राहत र सुरुङ उद्धार विशेषज्ञ

यता, चीनले पनि नेपालका बाढीपहिरो प्रभावितका लागि ५० टन आपत्कालीन राहत सामग्री पठाएको छ। चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला मालवाहक विमान आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

चिनियाँ दूतावासका अनुसार विमानमार्फत १३ हजार २०० थान आपत्कालीन राहत सामग्री नेपाल ल्याइएको छ। त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड तथा बिस्कुट र प्राथमिक उपचार किटलगायत सामग्री त्यसमा छन्।

चीनले राहत सामग्रीसँगै चार जना सुरुङ उद्धार विशेषज्ञलाई पनि आवश्यक उद्धार उपकरणसहित नेपाल पठाएको छ। उनीहरूले बाढीपहिरोका कारण सुरुङ तथा अन्य संरचनामा फसेकाको खोजी र उद्धारमा प्राविधिक सहयोग गर्नेछन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा चिनियाँ राहत सामग्री नेपाललाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङलगायतको उपस्थिति थियो।

अमेरिकाबाट ३६ लाख डलरभन्दा बढी मानवीय सहायता

नेपालको विपद्मा अमेरिकाले पनि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त सहयोगअन्तर्गत बाढी प्रभावित करिब १० हजार परिवारलाई तीन महिनासम्म आपत्कालीन खाद्यान्न उपलब्ध गराइनेछ।

अमेरिकाले विपद्को यस कठिन घडीमा नेपाली जनताको साथमा रहेको जनाएको छ। साथै, नेपालमा रहेका अमेरिकी नागरिकहरूको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता भएको पनि अमेरिकी विदेश मन्त्रालयले स्पष्ट पारेको छ।

बाढीपहिरोपछि उद्धार तथा खोजी कार्य तीव्र बनिरहेका बेला भारत र चीनबाट राहत सामग्रीसँगै विशेषज्ञ तथा प्राविधिक टोली नेपाल आइपुगेका छन् भने अमेरिकाले ठूलो मानवीय सहायता घोषणा गरेको छ। यसले विपद्को सामना गरिरहेको नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग थप बलियो बन्दै गएको देखाएको छ।

प्रतिक्रिया

बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन मस्कले मागे अनुमति, राहत तथा उद्धार कार्यमा प्रभावकारी हुनसक्छ स्टारलिङ्क

वीरगन्ज – विनाशकारी बाढीपहिरोका कारण सडक, पुलसँगै सञ्चार संरचनामा समेत

बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन मस्कले मागे अनुमति, राहत तथा उद्धार कार्यमा प्रभावकारी हुनसक्छ स्टारलिङ्क

वीरगन्ज – विनाशकारी बाढीपहिरोका कारण सडक, पुलसँगै सञ्चार संरचनामा समेत

पोडकास्ट सुन्नुहोस