वीरगन्ज–
नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूका लागि बागेश्वरधाम मण्डल जनसेवा समिति पर्साले १ हजार थान कपडा सहयोग गरेको छ।
आइतबार वीरगन्जको घण्टाघरमा आयोजित एक कार्यक्रमका बीच प्रभावित क्षेत्रमा राहत वितरण गर्न जान लागेका ठोरी युवा समाजका सदस्य एवं सामाजिक अभियन्ता माधव बस्नेतलाई उक्त कपडा हस्तान्तरण गरिएको हो। बागेश्वरधाम मण्डल जनसेवा समिति पर्साका अध्यक्ष तथा बागेश्वरधाम शिष्य मण्डल बिहारका सदस्य कन्हैया पटेलको विशेष पहलमा उक्त सहयोग जुटाइएको समितिले जनाएको छ।
सामग्री हस्तान्तरण गर्दै अध्यक्ष पटेलले विपत्तिको समयमा जात, धर्म, भाषा, क्षेत्र वा राजनीतिक विचारभन्दा माथि उठेर मानव सेवामा जुट्नुपर्ने बताए। उनले बागेश्वरधामका पीठाधीश्वर श्री धीरेन्द्र कृष्ण शास्त्रीजीको आदेश र प्रेरणाअनुसार विपद्मा परेका परिवारलाई माया, सद्भाव र सहानुभूतिको रूपमा सहयोग प्रदान गरिएको उल्लेख गरे। “संकटको घडीमा पीडित परिवारलाई ‘तपाईंहरू एक्लै हुनुहुन्न, हामी साथमा छौँ’ भन्ने भरोसा दिलाउनु नै हाम्रो मुख्य उद्देश्य हो,” पटेलले भने।
कार्यक्रममा बागेश्वरधाम मण्डल जनसेवा समितिका कन्हैया पटेल, शम्भु महतो थारु, युनिक पटेल, सन्तोष साह लगायतका पदाधिकारी एवं स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा बागेश्वरधाम परिवारले बाढी-पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै समितिले सरकार, उद्योगी, व्यवसायी तथा सामाजिक संघसंस्थाहरूलाई पनि आ-आफ्नो ठाउँबाट राहत र उद्धारमा जुट्न अपिल गरेको छ।











