त्रिशूली –
भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको छ । बाढीमा फसेका तथा अलपत्र परेका नागरिकको खोजी र उद्धारका लागि हेलिकोप्टर, ड्रोन क्यामेरा, तालिमप्राप्त कुकुरसहित संयुक्त सुरक्षा फौज परिचालन गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं रसुवाका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बाढी प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानबाट हालसम्म ३ हजार २९ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २ हजार ७७६ नेपाली र २५३ जना विदेशी नागरिक छन् ।
पछिल्लो २४ घण्टामै ६२४ जनाको उद्धार गरिएको प्रजिअ रेग्मीले जानकारी दिए । उनका अनुसार बाढीबाट ज्यान जोगाएर सुरक्षित स्थानमा आश्रय लिइरहेका व्यक्तिको पहिचान गरी हेलिकोप्टरमार्फत उद्धार भइरहेको छ ।
“बाढीबाट ज्यान जोगाइ सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेकालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो,” रेग्मीले भने, “उद्धार गरिएकाको स्वास्थ्य जाँच गरी उपचार आवश्यक पर्ने व्यक्तिलाई स्वास्थ्य संस्थामा पठाउने र बाँकीलाई परिवारसँग पुनर्मिलन गराउने काम भइरहेको छ ।”
सरकारले जलविद्युत् आयोजनाका सुरुङभित्र फसेको हुनसक्ने व्यक्तिबाहेक अन्य बाढी प्रभावितको उद्धारलाई प्राथमिकतामा राखेको छ । उद्धार टोलीले सम्भावित जोखिमयुक्त क्षेत्रमा नियमित हवाई निरीक्षणसमेत गरिरहेको छ ।
रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायत क्षेत्रमा अझै मानिस फसेको हुनसक्ने आशंकामा हेलिकोप्टरबाट नियमित रेकी भइरहेको प्रजिअ रेग्मीले बताए । उद्धार टोलीले दुर्गम तथा सडक सम्पर्क टुटेका क्षेत्रमा समेत खोजीलाई निरन्तरता दिएको छ ।
१ हजार ५५८ जना बेपत्ता भएको भन्दै निवेदन
बाढीपछि आफन्त सम्पर्कविहीन भएको भन्दै खोजतलासका लागि निवेदन दिने परिवारको संख्या पनि बढिरहेको छ । नुवाकोट र रसुवाका विभिन्न स्थानबाट १ हजार ५५८ जना हराएको भन्दै निवेदन परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विपीन रेग्मीले जानकारी दिए ।
उनका अनुसार बेपत्ता व्यक्तिको खोजीलाई प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ । टोलीले हेलिकोप्टर, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराको प्रयोग गरी सम्भावित स्थानमा खोजी गरिरहेको छ ।
बेपत्ता व्यक्तिका आफन्तले नेपाल प्रहरीको वेबसाइट, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा श्री नं. १ सैन्य तालिम केन्द्र, विदुरमा खोजतलासका लागि निवेदन दिन सक्ने प्रहरीले जनाएको छ ।
नुवाकोटमा ९५ शव संकलन
बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म नुवाकोटमा मात्रै ९५ जनाको शव संकलन गरिएको छ । जिल्लाका विभिन्न ३० स्थानमा संयुक्त सुरक्षा टोली परिचालन गरी गरिएको खोज तथा उद्धारका क्रममा ती शव फेला पारिएको हो ।
संकलित शवमध्ये पहिचान हुन बाँकी रहेका शवको विवरण प्रहरीले तस्बिरसहित सार्वजनिक गरेको छ । पहिचान तथा पोस्टमार्टमका लागि शव नुवाकोटबाट काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले बाढीपछि आफन्त हराइरहेका परिवारलाई अस्पतालमा सम्पर्क गरी शवको पहिचान गर्न तथा बेपत्ता व्यक्तिको खोजीका लागि सम्बन्धित सुरक्षा निकायमा निवेदन दिन आग्रह गरेको छ ।
भोटेकोसी बाढीपछि अवरुद्ध सडक, सञ्चार तथा भौगोलिक कठिनाइका कारण उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बने पनि सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरी प्रभावितको उद्धार र बेपत्ताको खोजीलाई तीव्र बनाएको जनाएको छ ।












