वीरगन्ज–
रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीको उद्धारका लागि सुरुङको ‘क्राउन’ खोल्न सोमबार बिहान ब्लास्ट गरिएको छ । बिहान करिब ३ बजे गरिएको ब्लास्टपछि सुरुङको मुख खोल्ने काम तीव्र पारिएको छ ।
आयोजनामा खटिएका इन्जिनियर श्रीराम न्यौपानेका अनुसार ब्लास्ट गरे पनि सुरुङभित्र तत्काल प्रवेश गर्न भने सकिएको छैन । सुरुङको ‘क्राउन’ पूरै पानीले भरिएकाले उद्धारमा थप चुनौती देखिएको उनले बताएका छन् ।
न्यौपानेले सामाजिक सञ्जालमार्फत सुरुङको ‘क्राउन’ खोल्ने काम निरन्तर भइरहेको जानकारी दिएका छन् । उनका अनुसार सोमबार बिहान करिब ३ बजे ‘क्राउन ब्लास्ट’ गरिए पनि त्यसपछि सुरुङभित्र प्रवेश गर्ने अवस्था बन्न सकेको छैन ।
“क्राउन ब्लास्ट गरियो, तर भित्र पस्ने आशा असम्भव भयो,” उनले उल्लेख गरेका छन् । सुरुङको क्राउन पानीले भरिएको र पहिलेबाटै जारी सुरुङको मुख खोल्ने कामलाई निरन्तरता दिइएको उनले बताएका छन् ।
भोटेकोसी नदीमा गत भदौ १० गते आएको भीषण बाढीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको थियो । बाढीका कारण आयोजनाको सुरुङ क्षेत्रमा केही कर्मचारी फसेको बताइएको छ ।
उनीहरूको उद्धारका लागि सुरुङको प्रवेशद्वार खोल्ने, पानी हटाउने तथा सुरक्षित रूपमा भित्र प्रवेश गर्ने प्रयास भइरहेको छ । उद्धार टोलीले सुरुङभित्रको अवस्थाको निरन्तर मूल्याङ्कन गर्दै उद्धारको प्रयास अघि बढाइरहेको छ ।












