वीरगन्ज –
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बारा र पर्साका ६१ जना अझै परिवारको सम्पर्कमा आउन सकेका छैनन् । बाढीपछि हराएका बाराका २५ जनामध्ये दुई जना मात्र सम्पर्कमा आएका छन् भने २३ जनाको अवस्था अझै अज्ञात छ । त्यस्तै, पर्साका ४० जनामध्ये दुई जना परिवारको सम्पर्कमा आए पनि ३८ जना अझै सम्पर्कविहीन छन् ।
चीनको तिब्बतस्थित हिमताल फुटेर आएको बाढीपछि मधेश प्रदेशका विभिन्न जिल्लाबाट हराएका १९२ जनामध्ये ३० जना परिवारको सम्पर्कमा आएका छन् भने १६२ जनाको अवस्था अझै अज्ञात रहेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी प्रभ प्रसाद ढकालका अनुसार बाढीपछि आफन्तले दिएको खोजतलास निवेदनका आधारमा सम्पर्कविहीन व्यक्तिहरूको विवरण संकलन गरिएको हो ।
प्रहरीका अनुसार सप्तरीबाट हराएका ४९ जनामध्ये एक जना सम्पर्कमा आएका छन् भने ४८ जनाको अवस्था अज्ञात छ । सिरहाका १० जनामध्ये दुई जना सम्पर्कमा आएका छन् भने आठ जना अझै सम्पर्कविहीन छन् ।
धनुषाका १३ जनामध्ये सात जना परिवारको सम्पर्कमा आएका छन् भने छ जनाको अवस्था अज्ञात छ । महोत्तरीका १७ जनामध्ये सात जना सम्पर्कमा आएका छन् भने १० जना अझै बेपत्ता छन् । सर्लाहीका १९ जनामध्ये तीन जना सम्पर्कमा आए पनि १६ जनाको अवस्था थाहा हुन सकेको छैन ।
त्यस्तै, रौतहटका १९ जनामध्ये तीन जना सम्पर्कमा आएका छन् भने १६ जना अझै सम्पर्कविहीन छन् । बाराका २५ जनामध्ये २३ जना र पर्साका ४० जनामध्ये ३८ जना अझै सम्पर्कमा नआएकाले यी दुई जिल्लाका परिवारमा चिन्ता बढेको छ ।
यसैगरी, नेपाल प्रहरीमा कार्यरत मधेशका नौ जनामध्ये छ जना सम्पर्कमा आएका छन् भने तीन जना अझै सम्पर्कविहीन छन् । नेपाली सेनामा कार्यरत तीन जनामध्ये एक जना सम्पर्कमा आए पनि दुई जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।
सम्पर्कविहीन हुनेमा अधिकांश रसुवा, धादिङ र नुवाकोटलगायतका क्षेत्रमा रोजगारी, व्यापार तथा व्यवसायका लागि पुगेका मधेशका नागरिक छन् । उनीहरूमध्ये केही जलविद्युत् आयोजनामा कार्यरत रहेको र बाढीका कारण आयोजनाका सुरुङ तथा अन्य संरचनाभित्र फसेको हुनसक्ने परिवारजनले आशंका गरेका छन् ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि आफन्त सम्पर्कविहीन हुँदा मधेशका विभिन्न जिल्लाका परिवारजनले खोजी तथा उद्धारलाई तीव्र बनाउन माग गर्दै आएका छन् । लामो समयसम्म सम्पर्कमा नआएकाहरूको यकिन अवस्था पत्ता लगाउन तथा पहिचानको कामलाई तीव्रता दिन परिवारजनले आग्रह गरेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयले सम्पर्कविहीन व्यक्तिहरूको खोजीका लागि रसुवा, धादिङ, नुवाकोटलगायत बाढी प्रभावित जिल्लाका प्रहरी कार्यालयसँग समन्वय गरी काम भइरहेको जनाएको छ ।
प्रहरीले आफ्ना आफन्त हराएको वा सम्पर्कविहीन भएको भए नजिकको प्रहरी युनिट, इलाका प्रहरी कार्यालय वा प्रहरी चौकीमा आवश्यक विवरणसहित खोजतलासका लागि निवेदन दिन आग्रह गरेको छ ।












