चितवन –
भोटेकोसी बाढीपछि त्रिशूली र नारायणी नदीमा फेला परेका सनाखत हुन नसकेका शवको पहिचान गर्न बेपत्ताका आफन्तको डीएनए नमूना संकलन सुरु गरिएको छ। शवको पहिचानमा कठिनाइ भएपछि प्रहरीले डीएनए परीक्षणमार्फत मृतकको पहिचान गर्ने प्रक्रिया अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुर सेवा इकाइ र जनस्वास्थ्य कार्यालयको सहयोगमा भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघको परिसरमा मंगलबारदेखि आफन्तको डीएनए नमूना संकलन थालेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म डीएनए नमूना संकलन भइरहेको छ।
उनका अनुसार हराइरहेका व्यक्तिका पहिलो तहका आफन्त—बुबा, आमा, छोरा वा छोरीमध्ये कुनै एकजनाको रगतको नमूना संकलन गरिनेछ। पहिलो तहका आफन्त उपलब्ध नभए दाजुभाइ वा दिदीबहिनीको नमूना प्रयोग गरेर पनि डीएनए परीक्षण गर्न सकिने प्रहरीले जनाएको छ।
डीएनए नमूना दिन आउने आफन्तले आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात र दुईप्रति पासपोर्ट आकारका फोटो ल्याउनुपर्ने प्रहरीले जनाएको छ।
नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलका अनुसार सनाखत हुन नसकेका शवबाट मुख्य रूपमा दाँत र हड्डीका नमूना संकलन गरिएको छ। ती नमूनाबाट डीएनए प्रोफाइल तयार गरी आफन्तबाट संकलित डीएनएसँग मिलान गरेर मृतकको पहिचान गरिनेछ।
यसअघि भोटेकोसी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा ठूलो संख्यामा शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनमा फेला परेका ३४८ शवमध्ये ३३५ वटाको व्यवस्थापन भइसकेको छ। तीमध्ये १२ वटा शवको सनाखत भएको छ भने एक शव व्यवस्थापन गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
व्यवस्थापन गरिएका शवमध्ये १२९ जनाको लिंगसमेत पहिचान हुन सकेको छैन। अन्य शवमध्ये १०७ पुरुष, ७३ महिला, १५ बालिका र ११ बालक रहेको प्रहरीले जनाएको छ।
शव व्यवस्थापनमा कठिनाइ भएपछि डीएनए नमूना सुरक्षित राखेर शवलाई भरतपुर महानगरपालिका–१ देवघाटस्थित जंगलमा खाडल खनी व्यवस्थापन गरिएको हो। प्रहरीले शवबाट संकलित डीएनए नमूना सुरक्षित राखिएको जनाएको छ।
यसैबीच, नदी किनारमा शव फेला पर्ने क्रम अझै जारी छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खोजी तथा शव व्यवस्थापनमा परिचालित छ।
प्रहरीका अनुसार चितवनबाहिर रहेका आफन्तले पनि आफू बसेको जिल्लाको जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए नमूना दिन सक्नेछन्। विदेशमा रहेका पहिलो तहका आफन्तले सम्बन्धित देशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगमार्फत पनि नमूना उपलब्ध गराउन सक्ने व्यवस्था मिलाइएको छ।
प्रहरीका अनुसार विदेशमा रहेका आफन्तले नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आफ्नो डीएनए प्रोफाइलको ‘सफ्ट कपी’ पठाएर पनि पहिचान प्रक्रियामा सहभागी हुन सक्नेछन्।
नेपालका प्रयोगशालाको क्षमता र आवश्यकताअनुसार वैदेशिक सहयोगसमेत परिचालन गरी कम्तीमा १२ हप्ता अर्थात् तीन महिनाभित्र डीएनए परीक्षण तथा म्याचिङ प्रक्रिया पूरा गर्ने लक्ष्य राखिएको प्रहरी निरीक्षक पोखरेलले बताए।









