काठमाडौं –
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले त्रिशूली क्षेत्रमा रहेका टनेलभित्र अझै नागरिक अलपत्र रहेको भन्दै तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सातवटा टनेलमध्ये दुईवटामा मात्रै उद्धार भएको र बाँकी पाँचवटा टनेलमा उद्धार हुन बाँकी रहेको दाबी गरे ।
उनले भने, ‘त्रिशूलीमा अहिले पनि मान्छे अलपत्र छन् टनेलभित्र । सेना भर्खरै उद्धार गरेको टनेल अपर त्रिशूली र लाङटाङ मात्र हो सात वटामा । सामाजिक सञ्जालमा सबै गरिसकेको भन्ने जुन हल्ला फैलाइएको जम्मा दुई वटा मात्र हो, पाँच वटा बाँकी छ ।’
टनेलको मुख बन्द नभएको दाबी गर्दै उनले जुम्लाका लालवीर बुढा, रमेश बुढा, रामचन्द्र बुढालगायत ६ जना व्यक्ति टनेलभित्र करिब २०० मिटरबाट जीवितै बाहिर आएको बताए ।
उनले भने, ‘यो भाषण हैन, सरकारको कर्तव्य हो । जसरी पनि त्यो टनेलमा गइदिनुस्, म अपिल गर्न चाहान्छु ।’
यस्तै, हिलो तथा भग्नावशेष हटाउने मेसिन नभएको भन्ने प्रधानमन्त्रीको भनाइप्रति प्रश्न उठाउँदै उनले आवश्यक मेसिनको खोजी गरी तत्काल उद्धारमा प्रयोग गर्न आग्रह गरे ।
उनले भने, ‘हिलो खन्ने मेसिन छैन भन्नुहुन्छ देशको प्रधानमन्त्रीले, हामीले वैज्ञानिक मन्त्री पनि बनाएका छौँ । मेसिन छ कि छैन पत्ता लगाइदिनुस् ।’
नागरिकको उद्धारका लागि सरकारसँग आग्रह गर्नु सरकारको विरोध नभएको भन्दै शाहीले उद्धारको मागलाई अपराध मानिए पनि आफू देश र जनताका लागि हजारौँ पटक यस्तो अपराध गर्न तयार रहेको बताए ।
सांसदहरूसँग सेना परिचालन, बजेट तथा राज्यका स्रोत–साधन परिचालन गर्ने अधिकार नभएको भन्दै उनले उद्धारका लागि सरकार नै सक्रिय हुनुपर्ने बताए ।
उनले भने, ‘हामीसँग सेना परिचालन गर्ने अधिकार छैन । हामी सांसद हौँ, वडा अध्यक्ष बराबर पनि बजेट बनाउने अधिकार छैन । हामीसँग बजेट परिचालन गर्ने अधिकार छैन । राज्यको स्रोत–साधन परिचालन गर्ने अधिकार छैन । यो अधिकार यही संसदभित्रका मन्त्रीहरूसँग छ, त्यही भएर सरकारलाई उद्धार गरिदिनुस् भनेको हो ।’











