वीरगन्ज-
देशका विभिन्न भागमा आएको भीषण बाढी र त्यसले सिर्जना गरेको प्राकृतिक विपत्तिलाई ध्यानमा राख्दै विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर समितिले आफ्ना पूर्व निर्धारित सम्पूर्ण नियमित कार्यक्रमहरू केही समयका लागि स्थगित गरेको छ। परिस्थितिको गम्भीरतालाई मध्यनजर गर्दै संस्थाले आफ्ना सबै शक्ति र संसाधन बाढी पीडितको उद्धार तथा राहत कार्यमा केन्द्रित गर्ने निर्णय लिएको छ।
यो समय आपसमा एकजुट भएर मानवताको धर्म निभाउने कठिन घडी भएको उल्लेख गर्दै परिषद्ले सबैलाई पीडित परिवारको सहयोगमा जुट्न सार्वजनिक अपिल गरेको छ। परिषद्का अनुसार बाढी प्रभावित क्षेत्रहरूमा तत्काल खाद्यान्न तथा आवश्यक राहत सामग्री वितरण गर्ने, पीडितहरूका लागि शुद्ध खानेपानी तथा तयारी भोजनको व्यवस्था मिलाउने र बिरामी एवं घाइतेहरूका लागि आवश्यक चिकित्सा सहायता पुर्याउने कामलाई तीव्रता दिइनेछ।
यसैगरी, जोखिममा परेका नागरिकहरूको सुरक्षित बचाउ र उनीहरूको पुनर्वासमा समेत सक्रिय सहयोग पुर्याउने लक्ष्य परिषद्ले लिएको छ। ‘सेवा नै सङ्गठन हो’ भन्ने मूल मन्त्रका साथ एकजुट भई यो विपत्तिको सामना गर्न र पीडितहरूको साथमा उभिएर मानवीय सेवामा समर्पित हुन वीरगञ्ज महानगर समितिले सर्वसाधारण, युवा तथा विभिन्न सामाजिक सङ्घ-संस्थालाई आग्रह गरेको छ।











