२०८३ भाद्र २१ गते, आईतवार ०१:३६

जनकपुरधामका १५ पोखरीको अतिक्रमण हटाउन गुठी संस्थानको ७ दिने अल्टिमेटम

जनकपुरधाम

जनकपुरधाम उपमहानगरपालिकाभित्र राजगुठीअन्तर्गत रहेका ऐतिहासिक तथा धार्मिक महत्वका पोखरी र तिनका डिलमा भएका अतिक्रमण हटाउन गुठी संस्थानले ७ दिने सार्वजनिक सूचना जारी गरेको छ। गुठी संस्थान शाखा कार्यालय जनकपुरधामले एक सूचना प्रकाशित गरी अनधिकृत रूपमा निर्माण गरिएका संरचना स्वतः हटाउन निर्देशन दिएको हो।

संस्थानका अनुसार देवान पोखरी (चन्द्रकूप), मध्यमा सर, रुक्मिणी सर, विडाल सर (विराही), गेन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपालमोचनी सर, पुरन्दर सर, लवकी पोखरी (जिरोमाइलभन्दा उत्तरपूर्व), लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अग्निकुण्ड, सीताकुण्ड र विहारकुण्डलगायत १५ वटा पोखरी क्षेत्रमा अतिक्रमण भएको छ।

तोकिएको समयभित्र अनधिकृत संरचना नहटाए प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी सूचनामार्फत दिइएको छ।

गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित ‘उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ कार्यान्वयन समिति’को निर्णयका आधारमा यो कदम चालिएको हो। यसअघि गत भदौ ६ गते पनि जनकपुरधामका ७ वटा पोखरीका डिलमा भएका अतिक्रमण खाली गराइएको थियो। लामो समयदेखि उठ्दै आएको पोखरी संरक्षणको मुद्दामा यसपटक गुठी संस्थानले कडा रूपमा प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस