२०८३ भाद्र २१ गते, आईतवार १३:०७

एउटा खसीले चार जनालाई पुर्‍यायो झ्यालखानातिर,खसीभन्दा महँगो ‘मिलापत्र’ !

रौतहट –

एउटा खसी चोरी भयो, बेचियो, किनियो—अन्ततः खसीभन्दा बढी मान्छे प्रहरीको हिरासतमा पुगेका छन् रौतहटको कटहरियामा करिब १५–२० किलोको एउटा खसीका कारण चोरी गर्ने दुई जना र चोरीको खसी किन्ने दुई जना गरी चार जना पक्राउ परेका छन्।

कटहरिया–५ का मुकेश कुमार राम र १७ वर्षीय रुपेश रामले स्थानीय सफ्रुला भनिने सफरुदिन मियाँ मन्सुरीको खसी चोरी गरी १३ हजार रुपैयाँमा समीर मन्सुरी र दिनेश दास बानियाँलाई बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

खसी चोरी भएपछि मालिकले खोज्दै जाँदा चोर फेला पारे र प्रहरीलाई बुझाए। चोरसँग सोधपुछ गर्दा खसीको ग्राहक’ पनि भेटिएपछि प्रहरीले खरिदकर्ता समीर र दिनेशलाई समेत पक्राउ गर्‍यो।

खसीभन्दा महँगो ‘मिलापत्र’ !

चार जना पक्राउ परेपछि घटनाले अर्को रोचक मोड लिएको छ। प्रहरी स्रोतका अनुसार केही बिचौलिया सक्रिय भएर चारै जनालाई १ लाख २० हजार रुपैयाँ जरिवाना तिराएर गाउँमै मिलापत्र गराउने प्रयाससमेत भएको थियो।

तर इलाका प्रहरी कार्यालय कटहरियाका वरिष्ठ सई जयप्रकाश साहले चोरीको घटनालाई ‘पैसा तिर, कागज गर र घर जाऊ’ शैलीमा टुंग्याउन नमानेपछि चारै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइएको बताइएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी शंकरप्रसाद आचार्यले चोरीको खसी खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा चार जना नियन्त्रणमा रहेको पुष्टि गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

कटहरियाको यो घटनाले एउटा खसीले चार जनालाई हिरासत पुर्‍याएको मात्र होइन, चोरी गर्नेभन्दा चोरीको सामान किन्ने बजार र अपराधलाई गाउँमै ‘मिलाउने’ चलखेल कति गम्भीर छ भन्ने प्रश्न पनि उठाएको छ।

स्थानीयले चोरी गर्ने, चोरीको सामान किन्ने र मिलापत्र गराउन खोज्ने सबै पक्षमाथि निष्पक्ष अनुसन्धान गरी दोषी देखिए कानुनी कारबाही गर्न माग गरेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस