२०८३ भाद्र २१ गते, आईतवार १३:१४

खाडीमा फेरी तनाव चर्कियो : अमेरिकी आक्रमणमा इरानका तीन तेल ट्यांकर ध्वस्त

काठमाडौं –

संयुक्त राज्य अमेरिकाले इरानका तीनवटा तेल ट्यांकरमा सैन्य आक्रमण गरी ध्वस्त पारेको दाबी गरेको छ । अमेरिकी सेन्ट्रल कमाण्डले शनिबार गरिएको आक्रमणमा एम÷टी काइलो गल्फ अफ ओमानमा डुबेको भिडियो सार्वजनिक गर्दै इरानलाई अमेरिकी नौसैनिक जहाजमाथि आक्रमण गरे थप कडा आर्थिक मूल्य चुकाउनुपर्ने चेतावनी दिएको हो ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) ले गस्तीमा रहेका अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि जवाफी कारबाही गरिएको थियो । अमेरिकी विमानवाहक युद्धपोत र निर्देशित क्षेप्यास्त्र बोकेको विध्वंसक जहाजले ती आक्रमण छल्न सफल भएको र कुनै पनि अमेरिकी सैनिक घाइते नभएको दाबी गरिएको छ ।

अमेरिकी सेनाले एम÷टी डाउनी लाई खार्ग टापुनजिक, एम÷टी स्टार्क–१ लाई जास्कनजिक स्थायी रूपमा निष्क्रिय बनाइएको तथा एम÷टी काइलो गल्फ अफ ओमानमा डुबाइएको जनाएको छ । आक्रमणअघि चालक दललाई जहाज छाड्न निर्देशन दिइएको सेन्ट्रल कमाण्डले उल्लेख गरेको छ ।

अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानले अमेरिकी नौसेनालाई निशाना बनाए त्यसका तेल ट्यांकरहरू नष्ट गरिने चेतावनी दिएका छन् । ‘यदि इरानले अमेरिकी जहाजमाथि गोली चलायो भने हामी उसका तेल ट्यांकरहरू डुबाइदिन्छौ ं। त्यसो हुन नदिन उनीहरूले अमेरिकी नौसेनामाथि आक्रमण नगरे पुग्छ,‘उनले एक्समा लेखेका छन् ।

सेन्ट्रल कमाण्डका कमाण्डर ब्राड कुपरले ती तीन ट्यांकर आइआरजीसी र त्यससँग आबद्ध क्षेत्रीय समूहहरूलाई आर्थिक स्रोत उपलब्ध गराउने बहु–अर्ब डलरको ‘छायाँ सञ्जाल’ को हिस्सा रहेको दाबी गरे ।

यता इरानको विदेश मन्त्रालयले अमेरिकी आक्रमणको कडा निन्दा गर्दै यसलाई संयुक्त राष्ट्रसंघको बडापत्रको धारा २(४) को उल्लंघन, युद्ध अपराध तथा अन्तर्राष्ट्रिय शान्ति, समुद्री व्यापार र सुरक्षामाथिको खतरा भएको जनाएको छ ।

मन्त्रालयले यसलाई इरानविरुद्ध जारी अमेरिकी सैन्य आक्रामकता, नौसैनिक नाकाबन्दी र आर्थिक युद्धको निरन्तरता भएको आरोप पनि लगाएको छ । अमेरिका र इरानबीचको यो घटनाले खाडी क्षेत्रमा सैन्य तनाव थप चर्किने संकेत देखिएको छ । एएनआई

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस