२०८३ भाद्र २१ गते, आईतवार २०:४९

रसुवा–भोटेकोशी बाढीपछि खोज तथा उद्धार जारी, १ हजार ३४२ शव फेला

काठमाडौं –

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि १२औँ दिनसम्म पनि खोज, उद्धार तथा राहत कार्य जारी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, प्राविधिक टोली तथा विदेशी विज्ञहरू खोज तथा उद्धार कार्यमा परिचालित छन् । विभिन्न जलविद्युत आयोजनाका सुरुङमा समेत खोजी कार्यलाई निरन्तरता दिइएको छ ।

त्रिशूली–३ ‘ए’ को सुरुङमा १६० मिटर, त्रिशूली–३ ‘बी’ मा हेलिकोप्टरमार्फत एक्साभेटर पु¥याएर ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर र चिलिमेमा १७० मिटरसम्म खोजी गरिएको प्राधिकरणले जनाएको छ । अपर त्रिशूली–१ मा टनेल हेडदेखि टेलसम्म खोजी कार्य जारी छ ।

अपर त्रिशूली–१ को अडिट–३ बाट इन्फ्रारेड (आईआर) तथा थर्मल ड्रोनमार्फत गरिएको खोजीमा जीवित व्यक्तिको संकेत नदेखिएपछि चिनियाँ टोली फर्किएको प्राधिकरणले जनाएको छ ।

खोज तथा उद्धारका लागि नेपाली सेनाका ग्राउन्ड फोर्स र पेट्रोल टोली विभिन्न स्थानमा परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका तालिमप्राप्त कुकुरसहितका केनाइन टोली पनि खोजीमा खटिएका छन्। नेपाल प्रहरीले ड्रोनमार्फत बाढी प्रभावित खोला किनारको अवस्था अवलोकन, निरीक्षण तथा विवरण संकलन गरिरहेको छ ।

विदेशी पर्यटकको उद्धार तथा उनीहरूका बेपत्ता आफन्तको खोजी र सहजीकरणका लागि पर्यटक प्रहरीसमेत परिचालन गरिएको छ ।

प्रभावित क्षेत्रमा यातायात सहज बनाउन विभिन्न स्थानमा सडक मर्मत तथा सफाइको काम भइरहेको छ । देवीघाटको तादी खोलामा अस्थायी पुल जडानको काम जारी छ भने गल्छी–देवीघाट सडकखण्डको ठूली खोला नजिक सडकमा जम्मा भएको लेदो हटाउने काम भइरहेको छ ।

देवीघाट–ढुङ्गे सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ । ढुङ्गे–त्रिशूली खण्डमा मर्मत तथा सफाइको काम भइरहेको छ । विदुर–बेत्रावती सडकखण्डको १० किलोमिटरमध्ये ८ किलोमिटर सडक सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।

बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ । तीमध्ये ९८ शवको सनाखत गरी परिवारलाई बुझाइएको छ ।

शव पहिचानमा सहजता ल्याउन सबै शवको डीएनए नमुना संकलन भइरहेको छ । साथै सम्पर्कविहीन व्यक्तिका नजिकका परिवारका सदस्यलाई पनि डीएनए नमुना उपलब्ध गराउन आग्रह गरिएको छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत परिवारका सदस्यको डीएनए नमुना संकलनको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा पुनः सञ्चालन गरी जनजीवन सामान्य बनाउने प्रयास भइरहेको छ । प्राधिकरणका अनुसार प्रभावित क्षेत्रको सञ्चार सेवा लगभग सुचारु भइसकेको छ भने विद्युत् सेवा पनि धेरै स्थानमा पुनः सञ्चालनमा आएको छ । 

खोज, उद्धार तथा राहत कार्यको अवस्थाबारे समीक्षा गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रीको उपस्थितिमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३६औँ बैठकसमेत बसेको छ ।

त्यसैगरी विषयगत सरकारी निकायका क्लस्टर लिड तथा रसुवा बाढीपछिको खोज, उद्धार र राहत समन्वयका लागि गठित परिचालित टोलीबीच संयुक्त बैठक पनि सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्रभावित क्षेत्रमा जनजीवन सामान्य बनाउन छिट्टै सफलता प्राप्त हुने विश्वास व्यक्त गर्दै थप जानकारीका लागि नियमित रूपमा जारी गरिने बुलेटिन तथा स्थिति प्रतिवेदन हेर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस