२०८३ भाद्र २२ गते, सोमबार १३:५३

बाढीका कारण भारतको बिहारमा २२ लाखभन्दा बढी प्रभावित

एजेन्सी –

भारतमा मनसुनी वर्षा तीव्र भएसँगै विभिन्न राज्यमा बाढी तथा डुबानको अवस्था गम्भीर बनेको छ। बिहार, उत्तर प्रदेश, उत्तराखण्ड, मध्य प्रदेश र राजस्थानका विभिन्न क्षेत्रमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ।

बिहारमा गंगा, कोसी, गण्डक, बूढी गण्डक, पुनपुन र बागमती नदीमा आएको बाढीका कारण १२ जिल्लाका करिब २२ लाख ४२ हजार मानिस प्रभावित भएका छन्। भागलपुरमा रिङ बाँध ओभरफ्लो भएपछि सुल्तानगन्जका करिब ४ हजार घर डुबानमा परेका छन्। गंगा र पुनपुनसहित केही नदीहरू खतराको तहभन्दा माथि बगिरहेका छन्।

उत्तर प्रदेशमा पनि मनसुनी वर्षा जारी छ। बरेलीमा आइतबार दिउँसोदेखि पटक–पटक परेको वर्षाका कारण फायर स्टेसनमा करिब ३ फिटसम्म पानी जमेको छ। धेरै घरका भान्सा तथा सुत्ने कोठासम्म घुँडासम्म पानी पुगेको स्थानीय विवरणमा उल्लेख छ।

उत्तराखण्डमा भारी वर्षाका कारण अल्मोडा, नैनीताल र चम्पावत८८ जिल्लाका आँगनबाडी केन्द्र तथा सबै विद्यालयमा सोमबार बिदा घोषणा गरिएको छ। यसैबीच केदारनाथ पैदल मार्गमा पहाडबाट खसेको ढुंगाले लाग्दा एक महिलाको मृत्यु भएको छ।

मध्य प्रदेशमा लगातारको वर्षाका कारण विभिन्न बाँधका ढोका खोलिएका छन्। राजस्थानको चित्तौडगढस्थित ठूलो सादडी क्षेत्रमा पसलहरूमा पानी पसेको छ। मुरैनामा बाढीका कारण डुबेको पुल पार गर्न स्थानीयले डोरी र कढाहीको सहारा लिएको दृश्य सार्वजनिक भएको छ।

उत्तर प्रदेशको रामपुरमा बाढीले घेरिएको भैया नगला गाउँमा पुल बगेपछि जिल्ला सदरमुकामसँगको सम्पर्क विच्छेद भएको छ। उत्तराखण्डको देहरादूनस्थित जैतनवाला क्षेत्रमा नून नदीमा पानीको बहाव बढ्दा एउटा पिकअप बगाएको छ।

उत्तर प्रदेशका ५८ जिल्लामा वर्षाको चेतावनी

भारतको मौसम विभागले उत्तर प्रदेशका ५८ जिल्लामा सोमबार वर्षाको चेतावनी दिएको छ। तीमध्ये ६ जिल्लामा अति भारी र १३ जिल्लामा भारी वर्षाको सम्भावना जनाइएको छ। पछिल्लो २४ घण्टामा उत्तर प्रदेशका ५४ जिल्लामा वर्षा भएको छ। सबैभन्दा बढी बिजनौरमा ९० मिलिमिटर वर्षा मापन गरिएको छ।

राजस्थानमा ७ जिल्लामा वर्षाको सम्भावना

राजस्थानमा भने भारी वर्षाको क्रम केही कमजोर भएको छ। मौसम विभागले भरतपुर, धौलपुर, करौली, सवाई माधोपुर, दौसा, बाराँ र झालावाड गरी ७ जिल्लामा सोमबार वर्षाको सम्भावना जनाएको छ।

मौसम विभागका अनुसार त्यसपछि आगामी एक सातासम्म राजस्थानमा मनसुन कमजोर रहने र अधिकांश क्षेत्रमा मौसम तुलनात्मक रूपमा सुख्खा रहने सम्भावना छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस