वीरगन्ज–
देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा ज्यान गुमाएका नागरिकहरूप्रति वीरगन्जमा गहिरो दुःख व्यक्त गर्दै विभिन्न संघ-संस्था तथा राजनीतिक दलहरूले छुट्टाछुट्टै दीप प्रज्वलन र श्रद्धाञ्जली सभा आयोजना गरेका छन्। सोमबार साँझ वीरगन्जको घण्टाघर र ऐतिहासिक माईस्थान परिसरमा सर्वसाधारण, उद्योगी, सामाजिक अभियन्ता तथा राजनीतिकर्मीहरू भेला भई मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्।
घण्टाघर परिसरमा हिन्दू स्वयंसेवक संघले विशेष कार्यक्रमको आयोजना गरेको थियो, जसमा उद्योगी एवं संस्थाका विभाग सञ्चालक असोक बैद्दको विशेष उपस्थिति रहेको थियो। संघका अनुसार पर्साका ७ स्थानसहित देशभरका ३५० भन्दा बढी स्थानमा एकैसाथ, एकै समयमा दीप प्रज्वलन र प्रार्थना सभा आयोजना गरिएको थियो। सोही स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर कमिटीले पनि छुट्टै कार्यक्रम गरी श्रद्धाञ्जली अर्पण गरेको थियो।
यसैगरी, माईस्थान परिसरमा दुई फरक-फरक संस्थाले दीप प्रज्वलन गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला कमिटीका अध्यक्ष एवं पर्सा क्षेत्र नं. १ का सांसद हरि ढकालको अध्यक्षतामा छुट्टै कार्यक्रम सम्पन्न भयो भने नेवाः दय् दबु वीरगन्ज महानगर कमिटीका अध्यक्ष सत्यम खड्गीको अध्यक्षतामा अर्कै कार्यक्रम आयोजना गरियो।
आयोजित छुट्टाछुट्टै कार्यक्रमहरूमा सहभागीहरूले दुई मिनेट मौन धारण गर्दै मृतकको आत्माको चिर शान्तिको कामना गरेका थिए। साथै, बाढीमा परी बेपत्ता भएका नागरिकहरूको शीघ्र खोजी र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभका लागि प्रार्थना गरिएको थियो। शोकमा डुबेको यो घडीमा सम्पूर्ण वीरगन्जवासीले विपद् प्रभावित परिवारहरूसँग ऐक्यबद्धता प्रकट गरेका छन्।












