काठमाडौँ-.
काठमाडौँको ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ।
विभिन्न होटल तथा गेष्टहाउसमा गैरकानुनी रूपमा बसोबास गरिरहेको विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। कार्यालयका प्रहरी उपरीक्षक (एसपी) शरतकुमार थापा क्षेत्रीका अनुसार ठमेलस्थित होटल ढाका एक्सप्रेस, होटल डि भेढा र होटल अलरहमानलगायतका स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा बङ्गलादेशको गाजीपुर (पुलिस स्टेशन गदबपुर) घर भएका ४६ वर्षीय फहिमा अक्तार हसन, ४८ वर्षीय महामुद, ४५ वर्षीय महबूब हसन, ४९ वर्षीय रेपोन मेहमूद, ३० वर्षीय एमडी-केरामोत अलीखान, ३० वर्षीय साहिदुर रहमान, ५० वर्षीय एमडी खलिलुर रहमान, २८ वर्षीय आरिफुर रहमान, ४२ वर्षीय एमडी मारुफ मृधा र ६४ वर्षीय मोहम्मद हनिफ मियाँ रहेका छन्।
पक्राउ परेका सबै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि अध्यागमन विभाग पठाइएको प्रहरीले जनाएको छ।











