दार्चुला–
दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुलको नेपालतर्फ भारतीय निर्माण व्यवसायीले गलत ठेगानासहितको साइनबोर्ड राखेपछि स्थानीय स्तरमा तीव्र विरोध सुरु भएको छ।
पुलको नेपालतर्फ महाकाली नगरपालिका–८, असिगडा क्षेत्र पर्ने भए तापनि त्यहाँ राखिएको ‘नेपाल–भारत मैत्री सेतु’ लेखिएको बोर्डमा ठेगाना भने भारततर्फको ‘काली नदी, छारछुम’ उल्लेख गरिएको छ। नेपाली भूभागमै भारतको ठेगाना राखेर बोर्ड टाँगिएपछि दार्चुलाका राजनीतिक दल, पत्रकार तथा आमनागरिकले विरोध जनाउँदै तत्काल सच्याउन माग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाका सभापति राजेशसिंह सामन्तले नेपाली क्षेत्रमा भारतीय ठेगाना लेखिनु गम्भीर विषय भएको बताउँदै परराष्ट्र मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दार्चुलालाई ध्यानाकर्षण गराइएको जानकारी दिए। स्थानीय रवि धामीले दुवै देशको सहकार्यमा बनेको पुलमा राखिने बोर्ड, लोगो र भाषाको स्पष्ट मापदण्ड हुनुपर्ने धारणा राखेका छन्।
चौतर्फी विरोधपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले भारतस्थित धारचुलाका एसडीएम आशिषकुमार जोशीसँग कुराकानी भइसकेको र त्रुटि सच्याउने सहमति भएको बताएका छन्। यस्तै, निर्माण कम्पनीका सबइन्जिनियर हेम पाण्डेले साइनबोर्ड छपाइका क्रममा प्राविधिक त्रुटि भएको स्वीकार गर्दै तत्काल सच्याउने काम अगाडि बढाइएको जानकारी दिएका छन्।











