२०८३ भाद्र २४ गते, बुधबार १८:२५

वीरगन्जको होटल अमन प्यालेसबाट १३२ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज

सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरो टोलीले वीरगन्जस्थित होटल अमन प्यालेसबाट ठूलो परिमाणको लागूऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

​विशेष सूचनाका आधारमा खटिएको ब्युरोको (सीसी) टोलीले बुधबार दिउँसो वीरगन्ज महानगरपालिका–१६ लिंकरोडमा रहेको ‘होटल अमन प्यालेस’को कोठा नम्बर २०५ मा छापा मारी भारतको मोतिहारी जिल्ला रक्सौल–१३ निवासी ३५ वर्षीय विशाल कुमार कुशवाहालाई पक्राउ गरेको हो।

​प्रहरीका अनुसार कुशवाहाले भारतको रक्सौल नाकाबाट उक्त लागूऔषध नेपाल भित्र्याएका थिए। सुरुमा १०० ग्रामभन्दा बढी रहेको अनुमान गरिएको उक्त पदार्थ जोख्दा १३२.९२ ग्राम पुष्टि भएको छ।

​पक्राउ परेका कुशवाहाको साथबाट बीआर ०५ बीएस ०४१९ नम्बरको कालो रंगको एचएफ डिस्कभर प्रो मोटरसाइकल, एक थान एन्ड्रोइड मोबाइल, नेपाली नगद ३२ हजार १०० रूपैयाँ र भारतीय नगद ४ हजार २०० भारु समेत बरामद गरिएको छ।

​बरामद सामानसहित नियन्त्रणमा लिइएका कुशवाहामाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस