२०८३ भाद्र २४ गते, बुधबार १९:०५

भोटेकोशी बाढीपीडितमाथि साइबर बुलिङ गर्ने कार्यकर्तालाई कारबाही गर्ने रवि लामिछानेको चेतावनी

काठमाडौँ

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपीडितमाथि साइबर बुलिङ तथा तुच्छ टिप्पणी गर्ने आफ्ना नेता–कार्यकर्तामाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

​प्रतिनिधि सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले बाढीमा आफन्त गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लिएर टिकाटिप्पणी नगर्न निर्देशन दिएका हुन्।

​विपद्मा परेका नागरिकमाथि प्रहार गर्ने तथा उनीहरूको पीडामाथि राजनीति गर्ने काम स्वीकार्य नहुने स्पष्ट पार्दै लामिछानेले भने, ‘भोटेकोशी बाढीको विपद्मा शोकमा परेकाहरूमाथि साइबर बुलिङ गर्ने र प्रहार गर्ने अन्धसमर्थक हामीलाई चाहिँदैन, हामीलाई उनीहरूको आँसु पुछ्ने मान्छे चाहिएको छ।’

​नागरिकले सरकारसँगै आश गरेर आफ्ना गुनासा र आक्रोश व्यक्त गर्ने उल्लेख गर्दै उनले पीडितको चीत्कारमाथि तुच्छ टिप्पणी गर्ने व्यक्ति रास्वपाको कार्यकर्ता हुन नसक्ने बताए।

​पार्टीका कुनै पनि नेता वा कार्यकर्ताले बाढीपीडितबारे तुच्छ टिप्पणी वा साइबर बुलिङ गरेको पाइएमा साधारण सदस्यसमेत नरहने गरी तत्काल निष्कासन गरिने चेतावनी उनले दिएका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस