काठमाडौँ —
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले गत वर्ष भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबै पक्षको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले भदौ २३ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा भएको राज्य दमनदेखि भदौ २४ गतेको हिंसा, आगजनी र सार्वजनिक सम्पत्तिको विनाशसम्मका घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने बताएका हुन्।
आन्दोलनका क्रममा आफ्नो घरसमेत जलेको स्मरण गर्दै उनले व्यक्तिगत पीडाभन्दा सन्तान गुमाएका अभिभावक र घाइते युवाहरूको पीडा ठूलो रहेको उल्लेख गरे। ‘भदौ २३ गते नौजवान युवाहरूले आक्रोश र अदम्य साहस प्रकट गरेका थिए, तर उनीहरूमाथि राज्यबाट चरम दमन भयो,’ थापाले भने, ‘शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी उक्साउने र दमन गर्ने दुवै पक्षको पहिचान गरी सजाय दिनुपर्छ।’
भदौ २४ गते भएका हिंसात्मक घटना तथा सार्वजनिक सम्पत्तिको विनाशबारे अनुत्तरित प्रश्नहरूको जवाफ नखोजिए सिङ्गो समाजले त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै उनले भदौ २३ गतेबाटै समग्र घटनाको निष्पक्ष समीक्षा गर्न आग्रह गरे।












