२०८३ भाद्र २४ गते, बुधबार १९:४६

देशमा राष्ट्रपतिको साटो राजा र सर्वधर्म स्वराजसहितको हिन्दू राष्ट्र आवश्यक: राप्रपा नेत्री खुस्बु ओली

वीरगन्ज

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेत्री एवम् प्रतिनिधिसभा सदस्य खुस्बु ओलीले देशमा राष्ट्रपतिको स्थानमा राजा र सर्वधर्म स्वराजसहितको बौद्ध तथा किरातसहितको हिन्दू राष्ट्र हुनुपर्ने बताएकी छन्।

राप्रपा पर्सा जिल्ला कमिटीको वीरगन्जस्थित सोल्टी गार्डेनमा आयोजित पाँचौँ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै ओलीले उक्त धारणा व्यक्त गरेकी हुन्।

आफ्नो मन्तव्यका क्रममा उनले दुई तिहाइ बहुमत प्राप्त सरकारले सुनसरीदेखि तराईका विभिन्न क्षेत्रमा हिन्दूहरूमाथि भइरहेको अत्याचारबारे संसद्मा बोल्ने हिम्मत नगरेको आरोप लगाइन्। उनले भनिन्, “हाम्रो पार्टीका मुस्लिम सांसदले संसद्मा हिन्दूमाथिको आक्रमणबारे दृढताका साथ आवाज उठाउनुभएको छ। हामी संसद्मा पाँच जना मात्र भए पनि पाँच पाण्डवभन्दा कम छैनौँ।”

नेतृ ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई विचलित नभई सडकबाट सशक्त रूपमा आवाज बुलन्द गर्न निर्देशन दिएकी छन्। सडकको आवाजलाई आफूहरूले संसद्मा उठाएर आफ्नै पालामा देशमा राजनीतिक परिवर्तन ल्याउने दाबीसमेत उनले गरिन्।

यसैबीच, राप्रपा पर्साको पाँचौँ अधिवेशनमा जिल्ला अध्यक्ष पदका लागि पर्सा क्षेत्र नम्बर २ का पूर्वसमानुपातिक सांसद बीना कुर्मी जैसवालसहित चार जना आकांक्षीले दाबी प्रस्तुत गरेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस