२०८३ भाद्र २४ गते, बुधबार १९:४६

नागरिक अधिकार र लोकतन्त्र जोगाउन काँग्रेसको एकता आवश्यक : पूर्वमन्त्री चौरसिया

रसुवा बाढीपीडितका लागि मियाँले ५१ हजार ७८६ र नेपालीले १० हजार ५ सय रुपैयाँ सहयोग गरे

वीरगन्ज

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वकानुनमन्त्री अजयकुमार चौरसियाले लोकतन्त्र र नागरिक अधिकार सुरक्षित राख्न नेपाली काँग्रेसको एकता आवश्यक रहेको बताउनुभएको छ।

काँग्रेस कमजोर भए देशमा लोकतन्त्र र नागरिक अधिकारसमेत कमजोर हुने जोखिम रहने भन्दै उहाँले पार्टीभित्रको गुट–उपगुट र विभाजनलाई अन्त्य गरी एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

महामानव विश्वेश्वरप्रसाद कोइरालाको ११३औँ जन्मजयन्तीको अवसरमा बुधबार नेपाली काँग्रेस पर्साले आयोजना गरेको माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री चौरसियाले वर्तमान सरकार जनताको हितभन्दा आफ्नो अहंकारलाई बढी प्राथमिकता दिइरहेको आरोप लगाउनुभयो। उहाँले यस्तो प्रवृत्तिले नागरिक अधिकार कमजोर हुने जोखिम बढेको बताउँदै पार्टी विभाजन होइन, काँग्रेसलाई एकढिक्का बनाउनु आजको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो।

महाविपत्तिको समयमा समेत सरकारले जनताको जीवनरक्षा र हितलाई प्राथमिकता दिन नसकेको आरोप लगाउँदै चौरसियाले सरकारका कारण नागरिक थप पीडित बन्नुपरेको बताउनुभयो। रसुवामा बाढी आएपछि सरकारले जुन स्तरमा तत्काल उद्धार र राहतको काम गर्नुपर्ने थियो, त्यसअनुसार काम गर्न नसकेको उहाँको आरोप थियो।

बाढीपछि सुरुङभित्र फसेकाहरूको उद्धार तथा राहतका लागि विदेशी विशेषज्ञलाई नेपाल प्रवेशमा रोक लगाइएको आरोप लगाउँदै चौरसियाले महत्वपूर्ण समय खेर फालिँदा मृतकको संख्या बढेको दाबी गर्नुभयो।

नेपाली काँग्रेस पर्साका जिल्ला सभापति एवं मधेस प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले पनि रसुवा बाढी प्रभावितको उद्धार र राहतमा सरकार चुकेको आरोप लगाए। उनीहरूले घटनास्थलमा पुगेर राहत तथा उद्धारमा सहयोग गर्नुपर्ने मन्त्रीहरू उद्धारभन्दा प्रचार र स्टन्टबाजीमा केन्द्रित भएको आरोप लगाए।

सुरुङभित्र फसेकाहरूको उद्धारका लागि दक्ष तथा विशेषज्ञ जनशक्तिलाई तत्काल घटनास्थलमा पुर्‍याउनुपर्नेमा सरकार र मन्त्री निकटका व्यक्तिहरू हेलिकप्टरमा चढेर ‘चटक’ देखाउनमै सीमित भएको उनीहरूको आरोप थियो। यस्तो गतिविधिले समस्याको समाधान गर्नुको सट्टा थप जटिल बनाएको वक्ताहरूले बताए।

कार्यक्रममा सहभागीहरूले नेपाली राजनीतिका सबैभन्दा उज्याला तारामध्ये एक महामानव विश्वेश्वरप्रसाद कोइरालाप्रति श्रद्धासुमन अर्पण गर्दै उहाँले प्रतिपादन गरेका राजनीतिक तथा लोकतान्त्रिक विचार आजको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेको धारणा व्यक्त गरे।

यसै क्रममा नेपाली काँग्रेस निकट नेपाल मुस्लिम संघ पर्साका अध्यक्ष हबिब मियाँले रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि व्यक्तिगत तर्फबाट ५१ हजार ७८६ रुपैयाँ सहयोग गर्नुभएको छ। त्यस्तै, नेपाली काँग्रेस वीरगन्ज नगरसभापति मनिन्द्रलाल नेपालीले व्यक्तिगत तर्फबाट १० हजार ५ सय रुपैयाँ सहयोग गर्नुभएको छ।

मियाँ र नेपालीले उक्त रकमको चेक नेपाली काँग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री तथा केन्द्रीय सदस्य अजयकुमार चौरसियालाई हस्तान्तरण गर्दै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिदिन आग्रह गर्नुभएको थियो।

रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि आ–आफ्नो स्तरबाट सक्दो आर्थिक सहयोग गर्न काँग्रेसका नेता तथा कार्यकर्तालाई अपिल गरिएपछि पार्टीका नेता–कार्यकर्ता तथा भ्रातृ संगठनका नेताहरूबाट प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्ने क्रम पर्सामा समेत बढ्दै गएको नेपाली काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले जानकारी दिनुभयो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस