२०८३ भाद्र २५ गते, बिहीबार १४:४७

अस्पताल डुलाउँदा–डुलाउँदै सर्पले टोकेकी ८ वर्षीया बालिकाको मृत्यु

विराटनगर –

सर्पले टोकेपछि उपचारका लागि अस्पताल पुर्‍याइएकी ८ वर्षीया बालिकालाई एउटा अस्पतालबाट अर्को अस्पताल डुलाउँदा–डुलाउँदै मृत्यु भएको छ। समयमै सघन उपचार कक्ष (आईसीयू/पीआईसीयू) उपलब्ध हुन नसक्दा इटहरी उपमहानगरपालिका–५ की अस्मित चौहानकी ८ वर्षीया छोरी आस्वाना चौहानको ज्यान गएको हो।

बुधबार बेलुका घरमै रहेका बेला आस्वानालाई गोमन सर्पले बायाँ हातमा टोकेको थियो। सर्पले टोकेको कुरा परिवारले तत्काल थाहा पाएन। हातबाट रगत बगेपछि मात्रै परिवारले घटना थाहा पाएका थिए।

त्यसपछि परिवारले उनलाई तत्काल नेपाली सेनाको इटहरीस्थित सर्पदंश उपचार केन्द्रमा पुर्‍यायो। त्यहाँ उपचारका क्रममा एन्टी–स्नेक भेनम दिइएपछि बालिकालाई थप सघन उपचार आवश्यक देखिएको थियो। तर उपचार केन्द्रमा बालिकालाई राख्न आवश्यक सघन उपचार कक्षको सुविधा नभएपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा रेफर गरियो।

परिवारले हतारहतार बालिकालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍यायो। प्रतिष्ठानमा उपचार सुरु भए पनि बालिकाको अवस्था गम्भीर भइसकेको थियो। चिकित्सकले तत्काल बाल सघन उपचार कक्ष (पीआईसीयू) आवश्यक रहेको बताए।

तर प्रतिष्ठानमा रहेका चारवटै पीआईसीयू बेड भरिएका थिए। पीआईसीयू खाली नभएपछि बालिकालाई त्यहाँ भर्ना गर्न नसकिएको परिवारको भनाइ छ।

एकातिर सर्पको विष शरीरमा फैलिँदै थियो, अर्कोतिर उपचारका लागि आवश्यक सघन उपचार कक्षको खोजीमा परिवार अस्पतालबाट अस्पताल दौडिरहेको थियो।

त्यसपछि अभिभावकले बालिकालाई मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा लगे। धरानबाट विराट ल्याउँदासम्म बालिकाको अवस्था थप जटिल भइसकेको थियो। विराट शिक्षण अस्पतालमा उपचार सुरु गरेको केही समयपछि बुधबार बेलुका करिब साढे ८ बजे उनको मृत्यु भयो।

आस्वानाका काका मनिराज चौहानका अनुसार समयमै पीआईसीयू उपलब्ध भएको भए बालिकालाई बचाउन सकिने सम्भावना थियो।

सर्पदंशपछि आवश्यक उपचारका लागि बालिकालाई लगातार तीनवटा स्वास्थ्य संस्थामा पुर्‍याउनुपरेको घटनाले नेपालमा सर्पदंश उपचारका लागि आवश्यक सघन उपचार कक्ष, बाल सघन उपचार सेवा र आकस्मिक उपचार पूर्वाधारको अभावमाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस