२०८३ आश्विन २८ गते, बुधबार १६:११

भन्सार छली भित्र्याइएका २० लाखभन्दा बढीका सामान बरामद

वीरगन्ज-

जिल्ला प्रहरी कार्यालय पर्साले भारतबाट भन्सार छली भित्र्याइएका २० लाख ९० हजार रुपैयाँ मूल्यका कपडा तथा खाद्यान्न बरामद गरेको छ।

वीरगन्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट प्रहरीले उक्त मूल्यका कपडा तथा खाद्यान्न बरामद गरेको हो।

वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलबाट चोरीपैठारी गरी विभिन्न माध्यमबाट नेपाल भित्र्याइएका सर्टिङ–सुटिङका कपडा, लेडिज कुर्ता–सुरुवाल, बालबालिकाका कपडा तथा विभिन्न खाद्यवस्तु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि आज वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उहाँले बताउनुभयो।

दसैँ, तिहार र छठ पर्व नजिकिएसँगै सीमावर्ती क्षेत्रमा कपडा, खाद्यान्नलगायतका मालवस्तुको अवैध ओसारपसार बढ्ने पुरानै प्रवृत्तिलाई ध्यानमा राखेर सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको उहाँले बताउनुभयो। सोही क्रममा उक्त सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस