२०८३ कार्तिक ९ गते, आईतवार ०९:५१

श्रीमान्श्री-मती मृत र चार वर्षीय छोरा घाइते

जनकपुर-

धनुषाको मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वरमा श्रीमती मृत अवस्थामा फेला परेकी छन् भने उनका श्रीमान् घरदेखि करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। घटनामा उनीहरूका चार वर्षीय छोरा पनि घाइते भएका छन्।

माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ। घाउको प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। यद्यपि, घटनाको वास्तविक कारण र परिस्थितिबारे अनुसन्धान भइरहेको छ।

मृत फेला परेका रीनाका श्रीमान् ३५ वर्षीय उमेश यादव मिथिला बिहारी नगरपालिका–४, भरतपुरका बासिन्दा हुन्। उनी केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेको बताइएको छ।

दम्पतीका चार वर्षीय छोराको एउटा तिघ्रामा समेत धारिलो हतियार प्रहारबाट भएको जस्तो देखिने घाउ फेला परेको छ। बालक कसरी घाइते भए भन्ने विषय पनि अनुसन्धानको दायरामा रहेको छ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले घटनाको प्रकृति शंकास्पद देखिएको बताएका छन्। उनका अनुसार प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

श्रीमान्–श्रीमती दुवैको मृत्यु र बालक घाइते भएको घटनाले थप रहस्य सिर्जना गरेको छ। प्रहरीले घटनाको क्रम, मृत्युको कारण र सम्भावित संलग्नताबारे अनुसन्धान गरिरहेको छ। अनुसन्धानबाट थप तथ्य खुलेपछि मात्रै घटनाको वास्तविकता स्पष्ट हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस