२०८३ कार्तिक ९ गते, आईतवार ११:३२

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई वीरगन्जमा भव्य सम्मान

वर्तमान सरकारले मुलुकमा ‘नियन्त्रित लोकतन्त्र’ लाद्न खोजेको छ : सहमहामन्त्री चौरसिया

वीरगन्ज-

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई वीरगन्जमा भव्य सम्मान गरिएको छ।

नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर २ ले शनिबार वीरगन्जमा आयोजना गरेको दसैँ, तिहार तथा छठपर्वको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रममा पार्टीका नवनिर्वाचित सहमहामन्त्री अजयकुमार चौरसियासहित केन्द्रीय सदस्यहरू अनिलकुमार रुगटा, जनार्दन सिंह क्षेत्री, असर्फी साह र जमिला खातुनलाई सम्मान गरिएको हो।

पर्सा निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति नितेन्द्र साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई फूलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री चौरसियाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पहिलोपटक पर्साबाट एक जना पदाधिकारी र चार जना केन्द्रीय सदस्य निर्वाचित हुनु ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। उहाँले कांग्रेसको केन्द्रीय समितिमा पर्साको बलियो उपस्थिति कायम भएसँगै जिल्लाका जनभावना र समस्यालाई केन्द्रीय नेतृत्वसमक्ष पुर्‍याउने अवसर बढेको उल्लेख गर्नुभयो।

तर, केन्द्रीय समितिमा बलियो उपस्थिति कायम हुनुका साथै आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा उत्कृष्ट नतिजा हासिल गर्नुपर्ने चुनौतीसमेत थपिएको उहाँको भनाइ थियो।

कांग्रेसले १५औँ महाधिवेशनबाट नयाँ, सक्षम र बलियो नेतृत्व चयन गरे पनि पार्टीभित्र पुरानै शैलीमा अर्को महाधिवेशनको तयारी भइरहेको विषयले पार्टीलाई कमजोर बनाउने खतरा रहेको चौरसियाले बताउनुभयो। उहाँले पर्सा जिल्लामा नेताहरूबीचको गुट–उपगुट अन्त्य गर्दै पार्टीलाई एकढिक्का बनाएर नेता तथा कार्यकर्ता एकमतका साथ आगामी निर्वाचनमा होमिनुपर्नेमा जोड दिनुभयो।

पूर्व कानुनमन्त्रीसमेत रहनुभएका चौरसियाले वर्तमान सरकारले मुलुकलाई ‘नियन्त्रित लोकतन्त्र’तर्फ लैजान खोजेको आरोप लगाउनुभयो। संविधानले प्रत्याभूत गरेका नागरिकका मौलिक हक कमजोर पार्दै लोकतान्त्रिक व्यवस्थालाई नियन्त्रण गर्ने प्रयास भइरहेको उहाँको दाबी थियो।

सरकारले नेपाली कांग्रेसलाई बदनाम गर्न विभिन्न जालझेल र झुटको सहारा लिइरहेको आरोप लगाउँदै उहाँले लोकतान्त्रिक मूल्य–मान्यता र नागरिकका संवैधानिक अधिकारको रक्षाका लागि कांग्रेस दृढतापूर्वक उभिने बताउनुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं प्रभावशाली नेता सुरेन्द्र चौधरीले वर्तमान सरकार आम नागरिकको आधारभूत स्वास्थ्य उपचारको अधिकार सुनिश्चित गर्न असफल भएको आरोप लगाउनुभयो।

कांग्रेस सरकारमा रहेका बेला सर्वसाधारणलाई स्वास्थ्य, शिक्षा र सडक पूर्वाधारको सुविधा उपलब्ध गराउन पहल गरिएको उल्लेख गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार बनेपछि स्वास्थ्य सेवाको अवस्था कमजोर भएको दाबी गर्नुभयो।

मधेस प्रदेशको सप्तरीस्थित राजविराजमा अस्पतालबाहिर सडकछेउमै एक गरिब दलित महिलाले बच्चा जन्माउनुपरेको घटनाले देशकै शिर झुकाएको उल्लेख गर्दै चौधरीले उक्त घटनालाई सरकारको कुशासन र कमजोर व्यवस्थापनको परिणामका रूपमा व्याख्या गर्नुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू अनिलकुमार रुगटा र असर्फी साह, नेतृ जमिला खातुन, मधेस प्रदेशका वन, वातावरण तथा सिँचाइमन्त्री शंकर चौधरी, भूमि व्यवस्था तथा सहकारीमन्त्री श्याम पटेल र नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीलगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो।

वक्ताहरूले पार्टीलाई थप सुदृढ बनाउन सबै नेता तथा कार्यकर्तालाई कांग्रेसको चारतारे झण्डामुनि गोलबद्ध भई आगामी निर्वाचनमा एकताबद्ध भएर लाग्न आग्रह गरेका थिए।

कार्यक्रममा पर्साका चारवटै निर्वाचन क्षेत्रबाट आएका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस