२०८३ कार्तिक १० गते, सोमबार १२:३५

दशैं मनाउन ससुराली पुगेका ज्वाइँद्वारा आक्रमण, श्रीमती र ससुरासहित चारजना घाइते

खोटाङ –

दशैं मनाउन ससुराली पुगेका एक व्यक्तिले धारिलो हतियार प्रहार गर्दा श्रीमतीसहित चारजना घाइते भएका छन्। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा भएको घटनामा दुई महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दशैं मनाउन ससुराली आएका ४३ वर्षीय नइन्द्रकुमार राईले परिवारका सदस्यहरूमाथि धारिलो हतियार प्रहार गरेका हुन्।

घटनामा उनकी ४० वर्षीया श्रीमती अञ्जना राई, ६२ वर्षीया सासू स्यामाउन राई, २५ वर्षीया साली तेनिना राई र ससुरा नरेन्द्र राई घाइते भएका छन्।

खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले नइन्द्रकुमारले आफ्नै परिवारका सदस्यहरूमाथि आक्रमण गरेको जानकारी दिएका छन्।

प्रहरीका अनुसार आक्रमणबाट अञ्जना र तेनिनाको अवस्था गम्भीर छ। घाइते चारैजनालाई उद्धार गरी उपचारका लागि दुर्छिमस्थित नगर अस्पताल पठाइएको छ।

घटनापछि प्रहरीले धारिलो हतियार प्रहार गर्ने नइन्द्रकुमारलाई पक्राउ गरेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पारिवारिक सम्बन्धभित्रै भएको यस हिंसात्मक घटनाको कारण भने प्रहरीले सार्वजनिक गरिसकेको छैन।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस