२०८३ मंसिर ११ गते, शुक्रबार १:२१

‘सस्तो राष्ट्रवादको नक्सा देखाउनेहरूले भारतसँग ग्रेटर नेपालको कुरा किन गरेनन्?’ ओलीको कटाक्ष

काठमाडौँ –

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको राष्ट्रिय हितसँग जोडिएका ठोस मुद्दा उठाउन नसकेको भन्दै तीव्र आलोचना गरेका छन्। प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक बन्न नसकेको टिप्पणी गर्दै ओलीले नक्सा देखाएर राष्ट्रवादको प्रदर्शन गर्नेहरू प्रत्यक्ष कूटनीतिक संवादमा राष्ट्रिय मुद्दा उठाउन असफल भएको आरोप लगाएका छन्।

विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तर्क्रियामा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा उठाइएका विषयहरू पुरानै एजेन्डा र पूर्वनिर्धारित कार्यक्रम रहेको दाबी गरे। उनका अनुसार भ्रमणमा नयाँ उपलब्धि हासिल भएको दाबी गरिए पनि अधिकांश विषय पहिले नै सम्झौता भएका, निर्माण सम्पन्न भएका वा लामो समयदेखि चर्चामा रहेका विषय मात्रै थिए।

ओलीले तल्लो अरुण परियोजना पहिले नै सम्झौता भइसकेको विषय भएको उल्लेख गर्दै मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पनि निर्माण सम्पन्न भइसकेकाले उद्घाटनको बटन थिच्ने काम मात्रै भएको टिप्पणी गरे। भैरहवा विमानस्थलका लागि हवाई रुटको विषय पनि नयाँ नभएको उनको भनाइ थियो।

भूकम्पपछिको अन्तर्राष्ट्रिय सम्मेलनमा घोषणा गरिएको सहयोग रकमसमेत अझै पूर्ण रूपमा प्राप्त नभएको उल्लेख गर्दै ओलीले घोषणा गरिएका रकम व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए। तर, प्रधानमन्त्रीको भारत भ्रमणमा न प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदनबारे छलफल भयो, न त सीमा विवादजस्ता संवेदनशील विषयले प्राथमिकता पाए भन्ने उनको आरोप छ।

भारतले नेपालको भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालले पनि आफ्नो नक्सा जारी गरेको प्रसंग स्मरण गराउँदै ओलीले राष्ट्रवादको प्रदर्शन र वास्तविक कूटनीतिक पहलबीचको अन्तरमाथि प्रश्न उठाए।

‘नक्सा टाँसेर सस्तो राष्ट्रवाद देखाउनेहरूले भारत भ्रमणमा जाँदा प्रत्यक्ष संवादमा ग्रेटर नेपाल वा नक्साको विषय किन उठाउन सकेनन्?’ भन्दै ओलीले प्रश्न गरे। देखावटी राष्ट्रवाद प्रदर्शन गर्न सहज भए पनि दुई देशबीचको सम्बन्ध पारस्परिक लाभ, सम्मान र राष्ट्रिय हितका आधारमा अघि बढाउनुपर्ने उनको तर्क थियो।

दुवै देशका प्रधानमन्त्रीको सहमतिमा गठन भएको ईपीजीले प्रतिवेदन तयार गरे पनि भारतले प्रतिवेदन बुझ्न अस्वीकार गरेको उल्लेख गर्दै ओलीले नेपालका तर्फबाट कम्तीमा त्यस विषयलाई औपचारिक संवादमा उठाउनुपर्ने बताए।

प्रधानमन्त्रीको भारत भ्रमणमा सिङ्गो देशको भावना र समर्थन प्रतिबिम्बित हुन नसकेको तथा भ्रमण निजी प्रकृतिको जस्तो देखिएको ओलीको टिप्पणी थियो। राष्ट्रिय हितका मुद्दामा साझा धारणा र व्यापक समर्थन जुटाउन नसक्दा भ्रमणमा ठोस एजेन्डा प्रस्तुत हुन नसकेको उनले आरोप लगाए। वातावरण संरक्षणजस्ता क्षेत्रीय महत्वका विषयमा समेत नयाँ पहल नभएको उनको भनाइ थियो।

दुई देशबीचको सम्बन्धलाई ‘सगरमाथाजस्तो उच्च र हिन्द महासागरजस्तो गहिरो’ भनेर वर्णन गर्ने पुरानै कूटनीतिक शब्दावली दोहोर्‍याउनु मात्रै भ्रमणको उपलब्धि हुन नसक्ने ओलीले टिप्पणी गरे।

‘चिकेन नेक’ अर्थात् सिलिगुढी करिडोरको विषयमा पनि ओलीले नेपालको प्रत्यक्ष सरोकार नरहेको धारणा राखे। सन् १९४७ मा भारत र पाकिस्तान विभाजनपछि उक्त क्षेत्रको भू–राजनीतिक परिस्थिति बनेको उल्लेख गर्दै उनले सन् १९७१ मा बङ्गलादेश गठन हुँदा वा केही वर्षअघि भारत र बङ्गलादेशबीच भूभाग आदानप्रदान हुँदा उक्त विषय समाधान हुन सक्ने तर्क गरे।

सन् १८१६ को सुगौली सन्धिपछि मेची नदी नेपालको सीमा कायम भएको उल्लेख गर्दै ओलीले सन् १९४७ पछि उत्पन्न सिलिगुढी करिडोरसम्बन्धी विषयलाई नेपालसँग जोड्नु उचित नभएको बताए। नेपालले आफ्नो राष्ट्रिय हितसँग प्रत्यक्ष सम्बन्धित विषयमा केन्द्रित हुनुपर्ने उनको धारणा थियो।

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस