काठमाडौँ –
सरकारले सवारी चालकको चेकजाँचमा अझ कडाई गर्ने भएको छ ।
आईतवार सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकले बोलाउनुभएको दुर्घटना न्युनिकरण सम्बन्धी बैठकले सो निर्णय गरेको हो । सवारी दुर्घटना नियन्त्रणका लागि सवारी चालकहरुले मादक पदार्थ, लागुपदार्थ सेवन गर्न नदिन लागि चेकजाँचमा कडाई गर्ने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । त्यसैगरी बैठकले यातायात व्यवसायीहरुलाई पनि सवारी चालकहरुलाई आवश्यक तालिमको तत्काल व्यवस्था मिलाउन सचेत गराएको छ ।

प्रवक्ता तिवारीका अनुसार सवारी दुर्घटना नियन्त्रणका लागि सिट भन्दा बढि यात्रु नराख्ने, यात्रु बाहक सवारी साधनमा मालसामान ढुवानी गर्न नहुनेलगायतका निर्णयहरुलाई कडाईका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरिएको छ ।
सरकार र सरोकारवाला निकायबीच सवारी साधन दुर्घटना नियन्त्रणका लागि विगतमा भएको सहमती पनि कार्यान्वयन गर्न बैठकले जोड दिएको गृह मन्त्रालयले जनाएको छ । —