२०८२ असार १७ गते, मंगलवार १६:१६

काठमाडौ –

नेकपा (एमाले) का उपमहासचिव एवंं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग गरिएको बीआरआई सम्झौता कार्यान्वयन योजनालाई गिजोल्ने काम गर्न नहुने बताउनुभएको छ ।

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा सो सम्झौताको कार्यान्वयन योजना अघि बढाउने कुरालाई रोक्न नहुने धारणा राख्नुभएको हो । उहाँले सत्तारुढ नेपाली काँग्रेससँग सो योजना अघि बढाउने विषयमा मतभिन्नता रहेको उल्लेख गर्दै सो कुरामा प्रधानमन्त्री ओली चीन भ्रमण जानुअघि नै सत्तारुढ दुई दलबीच सहमती बन्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

बुधबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले काँग्रेस–माओवादी नेतृत्वको सरकारको पालामा भएको सो सम्झौता अघि बढाउने विषयमा पछि हट्न नमिल्ने पनि बताउनु भयो । काँग्रेसले सो परियोजना अन्तर्गत विगतमा गरिएको सहमति कार्यान्वयनका लागि चीनबाट अनुदान लिँदा उपयुक्त हुन्छ भन्ने धारणा राख्दै आएको छ । तर उपमहासचिव ज्ञवालीले भने चीनतर्फ संकेत गर्दै विकसित देशहरुले अहिले अनुदान सहायता दिने कुरालाई कटौति गर्दै लगेको बताउनु भयो ।

उपमहासचिव ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाउनु भयो । दाहालले भारतीय पत्रिका द हिन्दुलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले चाईना कार्ड प्रयोग गरेको टिप्पणी गर्नुभएको थियो । त्यो टिप्पणी राष्ट्रका लागि खेदजनक रहेको उपमहासचिव ज्ञवालीको प्रतिक्रिया थियो ।

उपमहासचिव ज्ञवालीले विपक्ष दलहरुलाई प्रयोग गरेर दाहालले सरकारविरुद्ध भ्रम सृजना गर्ने प्रयास गरिरहेको आरोप पनि लगाउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस