वीरगन्ज-
नेपालमा विद्युतीय सवारीसाधनको नयाँ युगको सुरुवात गर्दै सिजी मोटर्सले मधेस प्रदेशका लागि आधिकारिक विक्रेता मिनोल्टा इन्भेस्टमेन्ट प्रालिमार्फत वीरगन्जमा विभिन्न विश्वस्तरीय ब्रान्डका अत्याधुनिक विद्युतिय (ईभी) गाडीहरू सार्वजनिक गरेको छ। वीरगञ्जस्थित भिषुवा होटेलमा बिहीवार आयोजित एक भव्य समारोहका बीच यी गाडीहरू सार्वजनिक गरिएको हो।

कार्यक्रममा नेटा एक्स, एवाटार ११, एक्सपेङ जी ६, रिडारा आरडी ६, आयोन भी र आयोन वाई मोडेलका ईभी गाडीहरू सार्वजनिक गरिएका छन्। यी गाडीहरू अत्याधुनिक प्रविधियुक्त, वातावरणमैत्री र ऊर्जा–दक्ष रहेको कम्पनीले जनाएको छ।
सिजी मोटर्सले नेपालभर २१ भन्दा बढी सेवा केन्द्रहरू तथा २४० भन्दा बढी चार्जिङ स्टेसनहरू सञ्चालन गर्दै उच्चस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। विद्युतीय सवारीसाधनको प्रवर्द्धनमार्फत कम्पनीले स्वच्छ ऊर्जा, दिगो यातायात र हरित भविष्य निर्माणमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
कार्यक्रममा सिजी मोटर्सका पदाधिकारीहरू, उद्योगी–व्यवसायी, विद्युतीय सवारीसाधनका विशेषज्ञ तथा अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।