काठमाडौं-
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब नरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले आफैँ आफ्नो पीठ थप्थप्याएर आफैँले आफूलाई प्रमाणपत्र दिएर आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन नरहेको बताउनु भयो । उहाँले नियमित कामका स्वाभाविक प्रगतिलाई सरकारको सफलताको रुपमा रंगरोगन गर्नुभन्दा राष्ट्रका दीर्घकालीन आवश्यकताका बारेमा संसदमा छलफल गर्न सुझाव दिनुभयो ।

उहाँले बनिबनाऊ पूर्वाधारको जस खोसाखोस गर्न छाडेर नयाँ पूर्वाधारका चुनौतीमाथि छलफल शुरु गर्न आग्रह गर्नुभयो ।
उहाँले संसदमा मिथ्यांक र आत्मरतिबाट कसैलाई आत्मसन्तोष मिले पनि देशको भलो नहुने बताउनु भयो ।