२०८२ असार १७ गते, मंगलवार १३:००

वीरगन्ज —

ठाकुरराम बहुमुखी क्याम्पस  वि.सं. २००९ मा स्थापना भएको थियो, मधेश प्रदेशको शैक्षिक इतिहासको एक अभिन्न अंग मानिन्छ। यसले आफ्नो स्थापनाकालदेखि नै हजारौं विद्यार्थीहरूलाई शिक्षित बनाउँदै उनीहरूको जीवन निर्माणमा ठूलो योगदान दिएको छ। तर, हाल यो क्याम्पस राजनीतिक चलखेल र कर्मचारी तन्त्रको शिकार बनेर आफ्नो गरिमा गुमाउँदै गएको छ।

१६ वर्षदेखि चुनाव नहुँदा बवस्था खराब
क्याम्पसको सबैभन्दा ठूलो समस्या भनेको बिगत १६ वर्षदेखि स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) को चुनाव नहुनु हो। यसले गर्दा विद्यार्थीहरूको मुलभुत समस्याको समाधान गर्न महिनौं लाग्ने गरेको छ। विद्यार्थीहरूको आरोप छ कि क्याम्पस प्रशासनले चुनाव नहुन दिन राजनीतिक दलहरूको सहयोग लिई बाधा उत्पन्न गरेको छ। चुनाव नहुँदा क्याम्पसको आम्दानी र खर्चमा पारदर्शिता आउन सक्दैन, जसले कर्मचारीहरूलाई अनियमितता गर्न सजिलो बनाउँछ।

राजनीतिक दलहरूको “कमाई खाने भाँडो”
पर्सा जिल्लाका राजनीतिक दलहरूले ठाकुरराम बहुमुखी क्याम्पसलाई आफ्नो “कमाई खाने भाँडो” को रूपमा प्रयोग गरेको आरोप विद्यार्थीहरूले लगाएका छन्। यसले गर्दा क्याम्पसको शैक्षिक वातावरण प्रभावित भएको छ। विद्यार्थीहरूका अनुसार, यसको मुख्य कारण राजनीतिक दलहरूको आपसी मिलाभगत र क्याम्पस प्रशासनको निष्क्रियता हो।

नयाँ आशाको किरण
तर, यसपटक विद्यार्थीहरूले जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि पूर्ण विश्वास जनाएका छन्। उनीहरूको विश्वास छ कि यी अधिकारीहरूले आफ्नो जिम्मेवारी निभाउँदै निष्पक्ष र शान्तिपूर्ण तरीकाले चुनाव सम्पन्न गराउनेछन्। विद्यार्थीहरूले यसपटक चुनाव सम्पन्न गराउन सबै पक्षहरूले सहयोग गर्नुपर्ने अपिल गरेका छन्।

क्याम्पसको भविष्य: चुनौती र सम्भावना
ठाकुरराम बहुमुखी क्याम्पसले मधेश प्रदेशमा शिक्षाको पहुँच र गुणस्तर बढाउन ठूलो भूमिका खेलेको छ। तर, यसको वर्तमान अवस्था चिन्ताजनक छ। यदि चुनाव सफलतापूर्वक सम्पन्न गरियो भने क्याम्पसले पुनः आफ्नो गरिमा फिर्ता पाउने सम्भावना छ। यसले विद्यार्थीहरूको आवाजलाई प्रतिनिधित्व गर्ने मार्ग प्रशस्त गर्नेछ र क्याम्पसको प्रशासनिक प्रक्रियामा पारदर्शिता ल्याउनेछ।

विद्यार्थी, शिक्षक, र अभिभावकहरूले क्याम्पसको स्तरोन्नति र विकासका लागि सबै पक्षहरूले एकजुट भई काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। ठाकुरराम बहुमुखी क्याम्पसको गौरवशाली इतिहासलाई पुनर्जीवित गर्न यो समय नै निर्णायक साबित हुने देखिन्छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस