काठमाडौँ-
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२४ अनुसार नेपालले १०० मा ३४ अंक प्राप्त गरेको छ। यो तथ्यांकले नेपालमा भ्रष्टाचारको अवस्था चिन्ताजनक रहेको देखाउँछ।
गत वर्ष नेपालको अंक ३५ रहेको थियो। यस वर्ष एक अंकले सुधार देखिए पनि भ्रष्टाचार विरुद्धको प्रयास प्रभावकारी हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ।

दक्षिण एसियाली राष्ट्रहरुको तुलनामा नेपालको अवस्था कमजोर रहेको छ। भुटान, भारत र माल्दिभ्स नेपालभन्दा अगाडि छन् भने श्रीलंका, पाकिस्तान र बंगलादेशको अवस्था नेपालभन्दा खराब छ।
विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क हो। उसले ९० अंक प्राप्त गरेको छ।ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले विश्व बैंकको सर्वेक्षणमा केही सुधार देखिए पनि वर्ल्ड इकोनोमी फोरम र ग्लोवल इनसाइटको सर्वेक्षणले निर्यात, कर, ठेक्का व्यवसाय, आयात जस्ता क्षेत्रमा भ्रष्टाचार बढेको देखाएको बताए।
नेपालले २०१५ देखि २०२४ सम्मका १० वर्षमा क्रमशः २७, २९, ३१, ३१, ३४, ३३, ३३, ३४, ३५, ३४ अंक प्राप्त गरेको छ। यस अवधिमा भ्रष्टाचार नियन्त्रणमा खासै सुधार हुन सकेको छैन।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक क्षेत्रको सदाचार प्रतिको प्रतिवद्धतामा अभिवृद्धि, सरकारी क्षेत्रमा हुने घुसखोरी र भ्रष्टाचारमाथि निष्पक्ष कारबाही, स्वच्छ न्यायिक प्रक्रियाको सुनिश्चितता र व्यवसायिक क्षेत्रसँग सम्बन्धित भ्रष्टाचार नियन्त्रणमा प्रभाकारी कदम चाल्न सुझाव दिएको छ।