बारा-
बारा प्रहरीले पछिल्लो २४ घण्टामा लागूऔषधको तीन ठूला कारोबारलाई पर्दाफास गर्दै चार जनालाई पक्राउ गरेको छ। प्रहरीले गाँजा र अफिम जस्तो पदार्थको ठूलो परिमाण बरामद गरेको छ।
पहिलो घटना: अमलेखगञ्जमा २८ किलो गाँजा बरामद

गए राति (सोमबार) विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकललाई रोक्न खोज्दा चालक झोला फालेर फरार भएका थिए। प्रहरीले झोला खोलेर हेर्दा २८ किलो गाँजा बरामद भयो। फरार व्यक्तिको खोजी भइरहेको छ।
दोस्रो घटना: अमलेखगञ्जमै थप २७ किलो गाँजा बरामद, दुई पक्राउ
आज (मंगलबार )बिहान सोही स्थानमा प्रहरीले अर्को मोटरसाइकललाई रोक्न खोज्दा दुई जना व्यक्ति झोला र मोटरसाइकल छाडेर भागे बा.प्र.०२-०४४ प ६७५५ नम्बरको मोटरसाइकल जाँच गर्दा २७ किलो ९० ग्राम गाँजा, एक थान मोटरसाइकल र एक थान आइफोन मोबाइल बरामद भयो। प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
तेस्रो घटना: पथलैयामा १३ किलो अफिमसहित दुई पक्राउ
आजै (मंगलबार ) बिहान प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले हेटौंडाबाट वीरगन्ज जाँदै गरेको प्रदेश २ ०३-००१ प १६१४ नम्बरको स्कुटीलाई रोक्न खोज्दा चालकले स्कुटी नरोकी भागे। प्रहरीले पिछा गर्दै स्कुटीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा १३ किलो अफिम जस्तो पदार्थ र १ लाख ३३ हजार ६ सय ५५ रुपैयाँ बरामद भयो। स्कुटी चालक मकवानपुर मनहरी गा.पा.वडा नं.६ का ५४ वर्षीय सूर्य बहादुर मोक्तान र पछाडि सवार मकवानपुर कैलाश गा.पा.वडा नं.८ का ४५ वर्षीय भीम बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ।
यी घटनाहरुले बारा जिल्ला लागूऔषध कारोबारको ट्रान्जिट प्वाइन्टको रुपमा प्रयोग भइरहेको देखाउँछ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।