२०८२ असार १७ गते, मंगलवार १३:०७

वीरगन्ज –

यस वर्ष पर्सा जिल्लामा आएको कठोर शीतलहरका कारण प्रभावित गरिब तथा विपन्न परिवारहरूलाई राहत सामग्री उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेलेका विभिन्न संघसंस्थाहरूलाई आज जिल्ला प्रशासन कार्यालय पर्साले सम्मानित गरेको छ। जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा शीतलहर पीडितहरूलाई न्यानो कपडा तथा अन्य आवश्यक राहत सामग्री वितरणमा योगदान पुर्याएका संस्थाहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको हो।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, रूंगटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुंगटा, नेपाल पत्रकार महासंघ पर्साका सहसचिव एसके चौरसिया, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्रराज कँडेल, नेपाल युवा उद्यमी मञ्च वीरगन्जका कार्यकारी सदस्य सुरज रुंगटा, ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, रोटरी क्लब र लायन्स क्लबका देवकीनन्दन अग्रवाललगायतले सम्मानपत्र प्राप्त गरे।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सचिव डिजल भट्टराईले विपद् व्यवस्थापनमा सरकार तथा निजी क्षेत्रको सहकार्यको महत्वबारे जोड दिँदै राहत कार्यमा संलग्न संघसंस्थाहरूलाई आभार प्रकट गरे। उनले यस अवसरमा जिल्लामा सम्भावित विपद्हरूको अवस्था र चुनौतीबारे पनि चर्चा गरे।

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्साल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट, पोखरिया नगरपालिकाका प्रमुख प्रधुमन चौहान, बहुदरमाई नगरपालिकाका उपप्रमुख सुष्मा कुशवाह, पटेर्वासुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साह, नेपाल विद्युत प्राधिकरण वीरगन्जका प्रमुख, नारायणी सिँचाइ कार्यालयका प्रमुख लगायतको उपस्थिति रहेको थियो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सामाजिक उत्तरदायित्व बहन गर्ने संस्थाहरूलाई सम्मान गरेर समाजमा सहयोगी भावना बढाउने उद्देश्य रहेको बताए। उनले शीतलहर पीडितहरूलाई सहायता गर्ने संघसंस्थाहरूको योगदान अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तो सहयोगात्मक भावना जारी राख्न आग्रह गरे।

यस कार्यक्रमबाट जिल्लामा विपद् व्यवस्थापन र सामाजिक सहयोगको महत्व प्रतिविम्बित भएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस