पोखरा-
पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगो सल्केर बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्यलाई कीर्तिपुर अस्पताल भर्ना गरिएको छ।
पोखरा सभागृहमा शनिबार मध्याह्न रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको झिल्कोले समातेको थियो। आगोको झिल्कोले समात्ने वितिक्कै अर्थमन्त्री पौडेल र मेयर आचार्यको हातमा रहेका दुवै बेलुन पड्किएका थिए।

त्यसबाट निस्केको आगोको ज्वालाले जलेर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका हुन्। पौडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो। चिकित्सकले उनलाई थप उपचारका लागि काठमाडौं रिफर गरेका हुन्। मन्त्री पौडेलको दुवै हात, अनुहार र घाँटी आसपासमा जलेको छ।
त्यस्तै, मेयर आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएको थियो। प्राथमिक उपचारपछि उनलाई काठमाडौं रिफर गरिएको हो। उनको अनुहार र गाला जलेको छ।
पोखरामा उपचार हुन नसकेपछि दुवै जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ। दुवैको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।