२०८२ असार १७ गते, मंगलवार १२:१७

वीरगन्ज-

वीरगन्ज कुम्हालटोल टोल सुधार समाजले शनिबार रेल्वेरोडस्थित पञ्चमुखी हनुमान मन्दिर अगाडि छैटौं महिने निःशुल्क भोजन शिविर आयोजना गरेको छ। शिविरमा रिक्सा, ठेला, ई-रिक्सा चालक, गरिब, असहाय, दलित र निमुखाहरूलाई निःशुल्क भोजन गराइएको थियो।

कुम्हालटोल टोल सुधार समाजका अध्यक्ष नन्दलाल राउत अहिरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अशोक गुप्ता, सचिव हेमन्त शाक्य, कोषाध्यक्ष बैधनाथ साह, सहसचिव रितेश गुप्ता, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, सल्लाहकार सदस्य समाजसेवी गोविन्द ताम्रकारलगायत स्थानीय अगुवा, महिला र युवाहरूको उपस्थिति थियो।

प्रत्येक महिनाको पहिलो शनिबार निःशुल्क भोजन कार्यक्रम आयोजना गरिने कुम्हालटोल टोल सुधार समितिका सहसचिव रितेश गुप्ताले जानकारी दिए। सबै समाज र दाताहरूको सहयोग रहेमा प्रत्येक महिनाको शनिबार मात्र नभएर प्रत्येक १५ दिनमा आयोजना गरी दीनदुखी असहायको सेवा सहयोग गर्न आफूहरू तयार रहेको उनले बताए।

समाजसेवी एवं सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझीले सम्पूर्ण टोलवासीलाई सेवामा सहयोग गर्न आग्रह गरे। शिविरमा एक बोरा चामलको भात, दाल, आलुकोभीको तरकारी र भुटेको हरियो खुर्सानी खुवाइएको थियो।

कुम्हालटोलका युवा नेता पवन सरार्फले शिविरमा तयार पारिएको खाना घरमै पकाएको जस्तो स्वादिष्ट र पौष्टिक हुने गरेको बताए। उनले आर्थिक एवं जिन्सी सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अरूलाई पनि यस्तो पुण्य कार्यमा सहयोग गर्न आग्रह गरे। कार्यक्रममा गरिब तथा असहायहरूको बाक्लो उपस्थिति थियो।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस