काठमाडौं –
काठमाडौंको टोखामा एक ज्यान मुद्दाका अभियुक्तलाई गोली हानेर प्रहरीले समातेको छ ।
लाल मोहम्मद हत्या अभियोगी गुड्डु पटेललाई पक्राउ गर्ने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको हो । हरिवन–२, सर्लाहीका मोहम्मदको २०७९ असोज ३ गते साँझ गोठाटारमा हत्या भएको थियो ।

उनी काठमाडौंको झोर, टोखामा फेला परेका थिए । भाग्न खोज्दा गोली प्रहार गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले बताए ।
उनी काठमाडौं आएको सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली पक्राउ गर्न पुगेको थियो । तर, उनी भागेपछि गोली हानिएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
उनलाई अहिले अस्पताल लगिएको र स्थिति खतरामुक्त रहेको बस्नेतले बताए ।
हत्याको बदलामा हत्या
मोहम्मद दर्जी भनी चिनिने ५८ वर्षीय लाल मोहम्मद स्वयं हत्या अभियोगमा जेल बसेर छुटेका थिए ।
उनी २०६४ असार २० मा बाराका बलराम पटुवाको हत्या संलग्न थिए । काठमाडौं, अनामनगरको उक्त घटना भएको थियो । त्यस अभियोगमा पक्राउ परेका मोहम्मदले त्यसपछिको १० वर्ष जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा बन्दी जीवन व्यतीत गरेका थिए ।