बारा-
जिल्ला प्रहरी कार्यालय बाराले २ किलो ५०० ग्राम लागूऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया चोकमा धादिङबाट वीरगञ्जतर्फ जाँदै गरेको प्र.०३-०३-००१ प ५२७३ नम्बरको एफजेड मोटरसाइकललाई शंका लागेर जाँच गर्दा मोटरसाइकल चालकले बोकेको झोलामा लुकाएर ल्याएको २ किलो ५०० ग्राम अफिम बरामद भएको हो।

पक्राउ पर्नेमा धादिङ गजुरी नगरपालिका-४ बस्ने २६ वर्षीय राजन चेपाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) विजय राज पण्डितका अनुसार पक्राउ परेका चेपाङलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र लागूऔषध ओसारपसारमा संलग्न अन्य व्यक्तिको खोजी कार्य जारी रहेको जनाएको छ।