२०८२ असार १७ गते, मंगलवार ०१:५६

वरिगन्ज –

मनोज ग्यास उद्योग प्रा.लि.ले उत्पादन गरेका ग्यास सिलिन्डरमा ४ किलो तौल कम भएको प्रकरणमा नयाँ खुलासा भएको छ। पर्साका पीडित उपभोक्ता नगीना साहको घरमा गत आइतबार तीनजना व्यक्ति अनुगमनको बहानामा पुगेका थिए। उनीहरूले सिलिन्डरको सट्टा दुईवटा सिलिन्डर दिने र यो प्रकरणलाई यहीँ समाप्त पार्ने प्रस्ताव राखेका थिए। तर, नगीनाले उक्त प्रस्ताव अस्वीकार गर्दै दोषीलाई कडा कारबाहीको माग राखेपछि घटनाले नयाँ मोड लिएको छ।

गोप्यखबरको समाचार प्रकाशन भएको दिन नगीना साहको घरमा ग्यास उपभोक्ता सङ्घ पर्साका अध्यक्ष वीरेन्द्र साह, मनोज ग्यासका प्रतिनिधि अरुण दास र चन्दन दास पुगेका थिए। उनीहरूले सिलिन्डरको सिल तोड्ने प्रयास गरेको अवस्थामा गोप्यखबरको टोलीले रोकेको थियो। अरुण दासले सिलमा छेडछाड भएको दाबी गरे पनि गोप्यखबरले क्यामेरामा प्रमाण रेकर्ड गर्न चुनौती दिएपछि उनी आक्रोशित बने। उनले गोप्यखबरको समाचार खण्डन गर्न मिडिया हाउसहरू प्रयोग गर्ने र उपभोक्तालाई नै दोषी बनाएर कारबाही गराउने धम्की दिए।

औपचारिक कुराकानीका क्रममा स्थानीय समाजसेवी शतिश सिंहसहित अन्य व्यक्तिहरू जोडिए। उनीहरूले यो प्रकरणलाई तत्काल मिलापत्र गर्न जोड दिए पनि उपस्थित सबैले अनुसन्धानको माग राखे। अरुण दासले आफूहरूको ‘माथिल्लो तह’सम्म पहुँच रहेको र कुनै कारबाही नहुने दाबी गर्दै उपभोक्तालाई नै फसाउने धम्की दिए। यो कुराले उपस्थित सबै आक्रोशित बने र कानुनी कारबाहीको अडान राखे।

मनोज ग्यास उद्योगका सञ्चालक मनोजकुमार दास हुन्। उनको उद्योगबाट तौल कम भएको गुनासो पटक-पटक सार्वजनिक हुँदै आएको छ। तर, आर्थिक र राजनीतिक पहुँचका कारण उनी कानुनी कारबाहीबाट जोगिँदै आएका छन्। हाल उनी उद्योग वाणिज्य सङ्घ पर्साका उपाध्यक्ष छन्, जसले उनलाई स्थानीय प्रशासन र कानुनबाट संरक्षण प्राप्त भएको विश्वास दिलाएको देखिन्छ। सञ्चालक दासले अरुण दास र चन्दन दासलाई आफूले पठाएको स्वीकार गरे पनि घटनाको विवरणबारे अनभिज्ञता जनाए। “म बुझ्छु र तपाईंलाई खबर गर्छु,” उनले गोप्यखबरसँग भने।

नेपालमा आम उपभोक्ताले ग्यास कम्पनी र डिलरमाथि विश्वास गरी बिना नापतौल सिलिन्डर भान्सामा भित्र्याउने गर्छन्। तर, कम्पनी र डिलरहरूले अतिरिक्त नाफाको लालचमा तौल कम गरेर उपभोक्तालाई ठग्ने मात्र नभई उनीहरूको विश्वासमाथि खेलबाड गरेको पाइएको छ। स्थानीयवासीले सञ्चालक दासले जिम्मेवार व्यवसायीको रूपमा अनुसन्धान गराउनुको सट्टा उपभोक्तालाई धम्क्याउने कार्य गरेको भन्दै निन्दा गरेका छन्।

यो प्रकरणले ग्यास उद्योगहरूको नियमन र उपभोक्ता संरक्षणमा गम्भीर प्रश्न उठाएको छ। उपभोक्ताहरूले दोषीलाई कारबाही र पारदर्शी अनुसन्धानको माग गरेका छन्।

मनोज ग्यास सिलिन्डरमा ४ किलो ग्यास कम, उपभोक्ता ठगिएको खुलासा (भिडियो सहित )

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस