सप्तरी –
सप्तकोशी नदीमा बेपत्ता भएका दुई सशस्त्र प्रहरी जवानमध्ये एक जनाको शव फेला परेको छ भने अर्काको खोजी कार्य जारी छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा मनसुनजन्य विपद्को पूर्व तयारीका लागि आयोजित प्रदेश स्तरीय विपद् सिमुलेसन अभ्यासका क्रममा बिहीबार दिउँसो १५:१० बजे दुई सशस्त्र प्रहरी जवान बेपत्ता भएका थिए।
बेपत्ता हुनेमा नं. १ श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हरदेव राजवंशी र नं. १३ गण पर्सा दरबन्दी भई नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सशस्त्र प्रहरी सुरज साउद थिए। शुक्रबार बिहानैदेखि खोजी कार्य तीव्र पारिएको थियो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता योगराज खतिवडाका अनुसार, सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोलीले खोजी कार्य गर्दा झापाका हरदेव राजवंशीको शव शुक्रबार बिहान सप्तकोशी किनारमा फेला परेको हो। डोटीका सुरज साउदको खोजी कार्य भने अझै जारी छ।
खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट डिएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा ५ जना अनुभवी गोताखोरको टोली बिहीबार राति १०:४५ बजे सप्तरी पठाइएको थियो। यस्तै, दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपी विजय हमालको कमान्डमा ४ जना गोताखोरसहित ३५ जना र नं. ६ गण सप्तरीबाट डिएसपी विपिन देशारको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त २० जना सुरक्षाकर्मी खोजीमा खटिएका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरी, दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी र नं. ७ गण सिराहाको संयुक्त टोलीले बिहीबार बिहानदेखि सुरु गरेको उक्त अभ्यास मनसुनजन्य विपद्को तयारीका लागि आयोजना गरिएको थियो। खोजी कार्यमा थप टोली र स्रोतसाधन परिचालन गरी बेपत्ता साउदको अवस्था पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।